बैकिङ् अत्यावश्यक क्षेत्र, अबदेखि हड्तालजन्य कार्य गर्न र गराउन समेत नपाइने
उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बैकिङ् अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नू , नगराउनू ।”
सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रानुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ ।
नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाका विरुद्धमा उच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।