भोलि सूर्यग्रहण : कुन ठाँउमा कति बजे देखिन्छ, कुन कुन राशीले हेर्न हुने
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिलेकाठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्य सार्वजनिक गरेको छ ।
बिहीबार पौष १० गते खण्डग्रास सूर्यग्रहण, यी राशिलाई कष्ट, यी राशिको भाग्य चम्किने !जसअनुसार काठमाडौँमा ०८:४३, महेन्द्रनगरमा ०८:३८ र भद्रपुरमा ०८:४८ मा ग्रहण शुरु हुनेछ । यसैगरी ग्रहणको मध्य पनि काठमाडौँमा १०:०१, महेन्द्रनगरमा ०९:५२ र भद्रपुरमा ०९:५९ मा हुनेछ । ग्रहणको अन्त्य काठमाडौँमा ११:३३, महेन्द्रनगरमा ११:१९ र भद्रपुरमा ११:२७ मा हुने समितिले जनाएको छ ।
यसैगरी ग्रहण अवधि काठमाडौँमा दुई घण्टा ५० मिनेट, महेन्द्रनगरमा दुई घण्टा ४३ मिनेट र भद्रपुरमा दुई घण्टा ५३ मिनेटसम्म रहनेछ । यसैगरी सूर्यग्रहणको दिप्तीक्रम काठमाडौँमा ०.५०१, महेन्द्रनगरमा ०.५११ र ०.४७४ हुनेछ । ग्रहण प्रतिशत भने काठमाडौँ र महेन्द्रनगरमा ३९ एवं भद्रपुरमा ३६ रहने जनाइएको छ । यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ । पृथ्वीको केही भागको करिब १०० किमिको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ ।
साउदी अरबबाट ‘रिङ अफ फायर’ देखिन शुरु हुन्छ । कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ । बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिको अध्ययनले देखाएको छ । यसैगरी बलायाकार सूर्यग्रहण काठमाडौँबाट देखिने छैन । यहाँबाट खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्न सकिने छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्छ । सूर्यको प्रकाश चन्द्रमाले छेक्दा पृथ्वीमा पर्ने छायाँलाई नै सूर्यग्रहण भनिन्छ । पूरै सूर्य ढाक्ने गरी अर्थात् खग्रास सूर्यग्रहण पृथ्वीको एक स्थानमा ३७५ वर्षको अन्तरमा मात्र लाग्ने समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने ग्रहणको मानिसमा प्रभाव शास्त्रीय विश्लेषणअनुसार चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै सुतक लाग्ने जनाएको छ । जसअनुसार बुधबार बेलुकी ८:४३ बजेदेखि नै बालक, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेधको शास्त्रीय वचन रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।