नागरिक पोष्ट News


सफल महिला प्रहरीको छवि बनाउन सक्षम प्रहरी अधिकृत, एसपी गंगा पन्त

5.1K

विभिन्न किसिमका चुनौतीहरु पार गर्दै सफल महिला प्रहरीको छवि बनाउन सक्षम प्रहरी अधिकारी हुन्, एसपी गंगा पन्त । उनी आफ्नो कामको हिसाबले अगाडि देखापरेकी सशक्त प्रहरी अधिकारी हुन् । हाल यूएन मिसनअन्तर्गत हाइटीमा खटिएकी एसपी पन्त नेपालमा रहँदा डीएसपीको रुपमा पर्वत जिल्लामा आफ्नो एक वर्षे कार्यकाल सफलताका साथ पूरा गरेकी थिइन् । २०५६ सालमा नेपाल प्रहरीमा इन्सपेक्टरका रुपमा प्रवेश गरेकी गंगा गत वर्ष एसपीमा बढुवा भएकी थिइन् ।

उनले जागिरको सिलसिलामा २०६० तिर अपराध महाशाखा, २०६३/६४ मा तत्कालीन गौशाला प्रहरी प्रभागको प्रमुख, २०६९ बालाजु वृत्तको इञ्चार्जको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी थिइन् । प्रहरीमा जागिर खानुअघि कृषि परिषद् र फाइनान्समा काम गरेको अनुभव उनीसँग थियो । प्रहरी हुने रहर नभए पनि सरकारी जागिर खाने लहडमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेको उनले बताइन् ।

उनी २०६० मा न्युरोडस्थित विशाल बजारभित्र रहेको राष्ट्रिय वाणिज्य बैंक चोरी काण्ड सुल्झाउन सफल भएकी थिइन् । त्यसताका सुरक्षा गार्डको मिलोमतोमा बैंकबाट दुई करोड चोरी भएको थियो । उक्त काण्डमा अनुसन्धान अधिकृत तोकिएकी पन्तले सो काण्ड आफ्नै कमाण्डमा सुल्झाएकी थिइन् । अपराध महाशाखाको अनुभवसँगै २०६२/६३ मा गौशाला प्रहरी प्रभाग (हाल वृत्त) मा उनको पोस्टिङ भयो । यो उनको पहिलो इञ्चार्ज पोस्टिङ थियो । आफ्नो एक वर्षीय कार्यकाल गौशालामा सफलताका साथ पूरा गरेपछि महिला प्रहरी अधिकृतले पनि काम गर्न सक्ने रहेछन् भन्ने सन्देश दिन सफल भएकी थिइन् । गौशालामा बस्दा पहिलो संविधानसभाको चुनाव गराउनुको साथै, त्यस क्षेत्रमा हुने चोरी, लुटपाट र पाकेटमारकोे बिगबिगीलाई नियन्त्रण गर्न उनले कुनै कसर बाँकी नराखेको स्थानीय व्यवसायी बताउँछन् । त्यस्तै बालाजु वृत्तमा चेलिबेटी बेचबिखन, चोरी लुटपाट, वेश्यावृत्ति निर्मूल पार्न आम समुदायसँग निकट भएर उनले काम गरेकी थिइन् ।

पर्वत पुगेकी पन्त जिल्लामा मात्र नभई क्षेत्रमै उत्कृष्ट प्रहरी अधिकृतको रुपमा आफूलाई परिचत गराउन सक्षम भइन् । पन्तले विभिन्न खाले महिला हिंसा, घरेलु हिंसा सामाजिक कुरीति, अपराध नियन्त्रण, समाज र राष्ट्रविरुद्धका गतिविधि लगायतका क्रियाकलापलाई निस्तेज पार्न दिनरात कटिबद्ध भएको भन्दै उनको कामको मूल्यांकन भयो । महिला भएकै कारण संगठनले दिएको जिम्मेवारी पूरा गर्न असमर्थ भइन्छ कि भन्ने चौतर्फी आशंकालाई उनले चिरेर देखाइन् ।

https://www.hamropolice.com/

Must View