कसरी चल्छ शीत लहर ? तराईमा शीत लहरबाट कसरी बाँच्ने
2K
काठमाडौं ।
सूर्योदयसँगै बढेर मध्याह्नमा उच्चविन्दुमा पुग्ने तापक्रम सूर्यास्तसँगै घटेर सूर्योदय हुनुअघि न्यूनविन्दुमा झरिसकेको हुन्छ । राति सौर्यकिरण नहुने हुँदा पृथ्वीमा तापक्रम क्रमशः घट्दै न्यूनतिर झर्छ ।
मौसमविद्हरूका अनुसार सापेक्षिक आद्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ । त्यो जलकणलाई कुहिरो भनिन्छ । कुहिरो लागेको बेला पृथ्वीको सतह र नजीकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ ।
दिन छिप्पिंदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । अर्थात् कुहिरो हट्छ । तर कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्य किरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन । त्यही अवस्थालाई शीतलहर भनिन्छ ।
न्यून तापक्रम, जलवाष्पको प्रचूरता, प्रशस्त धूलीकण र बादल हटाउन पुग्ने सौर्य किरण पृथ्वीको सतहसम्म नआइपुग्नु शीतलहरको प्रमुख कारण हो ।
यस्तो बेलामा मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ । सूर्यकिरणले छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ । यस्तो अवस्था हप्तौं रहने भएकाले यसलाई शीतलहर भनिएको हो ।
इन्धनको अत्यधिक प्रयोग, ईंटाभट्टा, डढेलो, विषाक्त धुवाँ–धूलो, फोहोर, हरितक्रान्ति आदि कारणले लामो समय जमीन चिसो रहन थालेको छ, जसले शीतलहर चल्ने गर्दछ ।
अपर्याप्त वर्षा, भौगोलिक अवस्थिति, हावाको बहाव आदिले शीतलहरको वातावरणलाई अझ् अनुकूल बनाउँछ । आँधीबेहरी आउँदा वा पानी पर्दा बाक्लो बादल फाटेर शीतलहर हट्छ ।
खासगरी उत्तरी भारतमा बढेको औद्योगिकीकरणलगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधिबाट तराईमा शीतलहर चल्ने गरेको पाइन्छ । शीतलहर चल्न थालेपछि मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुने गर्छ ।
जाडोबाट कसरी बच्ने ?
जाडोबाट बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानुपर्छ । तर, कहिलेकाँही जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ ।
जाडोमा भोक दबाउनु हुँदैन । स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ । हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अतः हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं ।
–कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।
–सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसँग लड्ने शक्ति समेत प्रदान गर्छ।
–जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनु पर्छ । नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनु पर्छ ।
–मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।
–जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।
–पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।
–जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।
–अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।
–जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्रायः मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।