नागरिक पोष्ट News


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सम्पन्न

1.6K

काठमाडौं: समानताको पुस्ताः बलात्कार विरुद्द ऐक्यवद्धता अर्थात ”Orange the World: Generation Equality Stands against Rape!’’भन्ने नाराका साथ २५ नोभेम्वर बाट सुरुवात गरिएको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” को  अन्तिम दिन अर्थात डिसेम्वर १० विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

नोभेम्वर २५ सुरुवाती दिनबाट नै महानगरीय प्रहरी परिसर ललितपुर, आफन्त नेपाल, छोरी, हायर ग्राउण्ड नेपाल, परिवर्तनको लागि सहकार्य नेपालले संयुक्त रुपमा यो अभियान मनाउने क्रममा स्थानीय तह तथा समुदायस्तरमा अन्तक्र्रिया तथा छलफल, सचेतनामुलक लिफ्लेट प्रकाशन तथा वितरण, समाजिक संजाल मार्फत सचेतनामुलक जानकारी र आत्मरक्षा सम्वन्धी तालिम समुदायस्तरमा सम्पन्न गरीसकेको सन्दर्भमा कार्यक्रमको अन्तिम दिन दिप प्रज्वलन तथा सडकनाटक प्रदर्शन, फ्ल्यास मोव प्रदर्शन गरी सम्पन्न गरेको छ ।

ललितपुरस्थित जावलाखेल डवलीमा अभियान्ता उमा मगरले संचालन गर्नुभएको उक्त कार्यक्रममा जावलाखेल प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दुर्गा सिंहको प्रमुख अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता सँगै मन्तव्यको क्रममा समाजमा महिला पुरुष दुवैका हिंसा भए पनि महिलानै यसको शिकार बन्नुपरेको अवस्थामा यस बारेमा पुरुषको भुमिका के र कस्तो रहेको छ भन्ने बारेमा समाजलाई प्रष्ट पार्नुपर्ने साथै पाढ्यक्रममा समेत लैङ्गिक समानताका विषयवस्तुलाई समाबेश गर्नुपर्ने धारण व्यक्त गर्दै नेपाल प्रहरी यो अभियानमा सदैव प्रतिवद्द रहेको र उपस्थित सबैलाई समेत प्रतिवद्द रहन आग्रह गर्नु भएको थियो ।

यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लैङ्गिक हिंसा निवारण शाखा उपसचिव रोशनी देवी कार्कीले लैङ्गिक हिंसा एक ठाउँमा कुनै व्यक्ति विशेषमा मात्र नभई शारिरिक तथा मानसिक दुबै किसिमले हुन्छ र बढि प्रभाव महिला तथा बालबालिकामा पर्ने गरेको भन्दै सरकारका ३ वटै तहमा यस सम्वन्धी विभिन्न कार्यक्रम गर्दै यो अभियान मनाएको साथै गत वर्षदेखि मन्त्रालयले २५ नोभेम्वरलाई लैङ्गिक हिंसा विरुद्दको दिवसको रुपमा मनाउने कामको थालनी गरेको साथै जिम्मेवार पुरुषको भुमिका सम्वन्धी निर्देशिका समेत तयार पारिएको बताउनुभएको छ ।

कार्यक्रममा म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु भन्ने प्रतिवद्दता सहितको व्यानरमा हस्ताक्षर गर्दै समाजमा जानेर वा व्यक्तिले अन्जानमै घट्ने यस्ता हिंसाहरुले नकारात्मक प्रभाव पारेको र घरबाट नै यसको सुरुवात हुने भएकोले हामी सबै मिलेर यस्ता घटनाको न्युनिकरण गर्नमा सचेतनामुलक कार्यक्रमका साथ अघि बढ्नको लागि नागरिक समाजले सबैलाई आग्रह गरेको छ ।

समाजमा दिन प्रतिदिन लैङ्गिक हिंसाका घटनाहरु बढ्दै गइरहेको समसामयिक परिपेक्षमा यस सम्वन्धी घटनाक्रमलाई न्युनिकरण गर्नको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउदै, समाजमा बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कार, बहुबिबाह, अंगभंग, एसिड आक्रमण तथा छुवाछुत जस्ता कारण अहिले पनि राष्ट्र, समाज, व्यक्ति तथा परिवार विक्षिप्त भइरहेका छन् भने समयमा नै यस्ता घटनाका दोषीलाई कारवाही हुन नसक्दा पीडित-प्रभावित न्याय पाउनबाट बंचित हुनु परेको घटना समाजमा देख्न तथा सुन्न सकिन्छ भन्दै यस्ता कार्यलाई जरैदेखि निरुत्साहित गर्नमा हामी सबैको हातेमालो जरुरी रहेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराइले बताउनु भएको थियोे ।

कार्यक्रममा प्रस्तुत गरिएको सचेतनामुलक नाटकले लैङ्गिक हिंसा यसका असर र प्रभाव तथा समाजमा यसको अवस्थालाई मुख्य विषयवस्तु बनाई प्रस्तुत गरिएको सडक नाटकले पनि समसामयिक विषयवस्तुलाई चित्रण गरेको थियो । साथै सहकार्यमार्फत गरिएको कामहरुबाट नै सफलता हासिल गर्न सकिन्छ भन्दै सबैलाई सहकार्यमार्फत अघि बढ्नको निम्ती अनुरोध गरिएको थियो । परिवर्तनका लागि सहकार्य नेपालका निर्देशक इन्दिरा घलेको धन्यवाद ज्ञापनसहित सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनीधि, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था महासंघ, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी साथै पत्रकारको उपस्थिति रहेको थियो ।

Must View