नागरिक पोष्ट News


उपनिर्वाचन २०७६ मतपरिणामको नतिजा: ३९ मा कांग्रेस एमाले ले कति कति जिते ?

2.1K

बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थाहाभएको छ ।

मार्तडी ः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी हुनुभएको छ । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल एक हजार ३९ मतदाता रहेकामा ७२७ मत खसेका थिए । तीमध्ये विजयी बुढा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खम्म नेपालीसँग ३५ मतान्तरले पराजित हुनुभएको थियो । वडाअध्यक्ष नेपालीको गत वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएको थियो ।

दाङ ः घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर डाँगी विजयी हुनुभएको छ । डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

चार हजार ४५३ मतदाता रहेकामा तीन हजार २२६ मत खसेका थिए जसमा ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा सो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा विजयी हुनुभएको थियो । उहाँको निधन भएपछि अहिले वडामा उपनिर्वाचन भएको हो ।

राजविराज ः सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गर्दै महिला उम्म्ेदवार प्रमिलादेवी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

मेलम्ची ः सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केदारनाथ आचार्य विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका अशोक तामाङलाई पराजित गर्नुभएको हो । आचार्य ७१२ मत ल्याएर विजयी हुनुभएको हो । तामाङले भने ४३९ मत प्राप्त गर्नुभएको छ । सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

जलेश्वर ः महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक विजयी हुनुभएको हो । राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

यस्तै बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेस पार्टीका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

अर्घाखाँची ः मालारानी गाउँपालिका–३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यमलाल खनालले एक हजार ५३ मत प्राप्त गर्नुभएको थियो ।

रौतहट ः गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । श्रेष्ठ १७५ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गर्नुभएको थियो ।

बनेपा ः वडाध्यक्ष पदका लागि धुलिखेल नगरपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गर्नुभएको थियो ।

गुल्मी ः रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गर्नुभएको हो । सिञ्जालीले ८०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

कावासोती ः नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले कुल ३६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो । नेकपाका उम्मेदवार मगरले आफ्ना प्रतिद्वन्द्वी रानालाई १३६ मत अन्तरले पराजित गर्नुभएको हो ।

लहान ः सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नेपाली काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।

भोजपुर ः पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी बन्नुभएको हो । राईले ६९१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गर्नुभएको छ ।

बैतडी ः यहाँका तीन वडामध्ये दुई वडामा नेपाली काँगेस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी हात पारेको छ । गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चांैडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ ।

अन्तिम मत परिणाममा दोगडाकेदार–४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टलाई १०० मतले पराजित गर्नुभएको हो । एक हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्रप्त गर्नुभएको थियो ।

यस्तै पुर्चौंडी–४ मा नेकपाका धानुक १०५ मत बढी मत ल्याएर विजयी हुनुभएको छ । एक हजार ३३० मतमा विजयी धानुकले ६६३ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गर्नुभएको थियो ।

सुर्नया–१ मा काँग्रेसका उम्मेदवार चन्द ४३८ मतमा २१९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभएको थियो ।

सङ्खुवासभा ः खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरत घिमिरे विजयी हुनुभएको छ । उहाँले ७९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी मकालु गाउँपालिको अध्यक्षका लागि भएको उपनिर्वाचनमा मकालु गाउँपालिकाका १० वटै स्थानमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका नुम बजारमा आइपुगेको र अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेकाले केही बेरपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै बाँके – कोहलपुरको वडा नं ६ का लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारको कडा प्रतिस्पर्धा भएको थियो ।

नेकपाका उम्मेदवार नेकपाका राम शरण थारुले रामशरण थारु ८०० प्राप्त बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण थारुले ७३७ मत प्राप्त गरि पराजित भएका छन् ।

निर्वाचनमा पाँच वटा राजनीतिक दलले सहभागिता जनाएका छन् । राप्रपाका श्रीधर सुवेदीको ६१ मत प्राप्त गरेका छन् । नेमकिपाका दिपा लक्ष्मी हमालले १३ र समाजबादिका शुभाखर पोख्रेलले १० मत पाए ।

कोहलपुर नगरपालिका¬–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका थिए । दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका थिए ।

पाँचथरमा नेकपा र काँग्रेस विजयी

फिदिमनगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । भट्टराई ४७४ मत अन्तरले विजयीहुनुभएको हो ।

कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाउनुभयो । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई काँग्रेसका हर्क मोक्तानसँग पाँच मतले पराजित हुनुभएको थियो ।

त्यस्तै, हिलिहाङ गाउँपालिका–७ मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका तिलविक्रम इधिङगोले ८४२ मत प्राप्त गरेर नेकपाका गेहनाथ रिजाललाई ३० मत अन्तरले पराजित गर्नुभएको हो । कूल दुई हजार ६०० मतदाता रहेको वडामा शनिबार भएको चुनावमा एक हजार ६९३ मत खसेको थियो ।

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।

अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो 

Must View