नागरिक पोष्ट News


कृषि विकास बैंकमा ३३ करोड ९३ लाख रकम हिनामिना यसरी भयो, हिनामिना गर्ने को को ?

2.2K

कृषि विकास बैंककका स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमितविपरीत रु ३३ करोड ९३ लाख रकम निकालेको पाइएको छ । यस्ता प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाप्रति नै नागरिकको विश्वाससमेत गुम्ने अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छ ।

शाखा अधिकृत गौतमले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोवार देखाई जम्मा पारेको र अन्यत्र पठाएको पाइएको छ । तेजबहादुर थापा नाम खडा गरी सोही नामबाट नागरिकता र राहदानीसमेत बनाई बैंकबाट हिनामिना गरेको रकम लिएर विदेश फरार हुने योजनासमेत बनाएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

आयोगले दर्ता गरेको मुद्दाको विवरणअनुसार शाखा अधिकृत गौतमलगायत कर्मचारीले कार्यालय समयभन्दा बाहेकका समयमा बसी ‘कोर बैंकिङ सिष्टम’ को दुरुपयोग गरी बैंकलाई हानि पु¥याएको तथा आफूले गैरकानूनी लाभ लिएको पाइएको छ । राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न शाखा अधिकृत गौतमकी जेठी श्रीमती सम्झना पोखरेलसमेत संलग्न रहेको पाइएको आयोगले जनाएको छ । सम्झनाले तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट गैरकानूनीरुपमा निकालेको रकमबाटै कर्जा लिएको, सो रकमको कारोवार गर्न अन्य बैंकका खाता खोल्ने र बन्द गरेको, जग्गा जमानी सबै बेची भारत पलायन हुने योजना समेत बनाएको पाइएको छ ।

गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमलेसमेत श्रीमान्लाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगी भूमिका खेलेको आयोगको आरोप छ । यस्तै शाखा अधिकृत गौतमले निकालेको पैसा व्यवस्थापन गर्न सन्दिप गुप्ता र सूर्यबहादुर लिम्बूसमेत लागिपरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

यस्तै मतियारका रुपमा कृष्णहरि थापा भनिने राजीव थापासमेत सो प्रकरणमा जोडिएको पाइएको छ । आयोगले आज बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम, शाखा प्रबन्धक भरतबहादुर बानियाँ, गौतमकी पहिलो श्रीमती सम्झना र दोस्रो श्रीमती जेनी श्रेष्ठ, मतियारका रुपमा रहेका सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध जनही रु ३३ करोड ९३ लाख बराबरको बिगो दाबी गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार सरकारी सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका आठै जनालाई कडा कारवाहीको मागसमेत गरिएको छ ।

Must View