मौनताको संस्कृति : जब मौनताको बाँध टुट्छ; बाढीको ठूलो भेल आउँछ - पुनम
अमानवीय सामाजिक संरचनाको दुइ भिन्न उपज उत्पीडक र उत्पीडित हुन्। जुन सामाजिक शोषणको पूरक हो र त्यसको कारण समाजमा मौनताको संस्कृति कायम हुन जान्छ। यस विषयमा महान् पाउलो फ्रेरेको अनुसार यो संस्कृति कि त अज्ञानताको कारण उब्जिन्छ कि त शिक्षाकै कारणबाट उत्पादित हुनुपर्छ। यसका दुइ पक्ष उत्पीडकहरु जो आफूलाई सर्वश्रेष्ठ ठान्दछन् र अरुमाथि शासन गर्न खोज्दछन्। त्यस्तै अर्को पक्ष, उत्पीडित जो उत्पीडकको आदेश अनुरुप नै आफूलाई परिणत गर्ने, चुपचाप लागेर बस्ने, वा सुन्ने, आफ्नो राय व्यक्त गर्न नचाहने हुन्छन्। उत्पीडकको संस्कृति शक्तिशाली हुने भएकोले उत्पीडितहरु आफूलाई अज्ञानी ठान्छन् र उत्पीडकको आदेश मानेर चल्नु नै आफ्नो धर्म मान्छन्। यो नै मौनताको संस्कृति हो।
शिक्षाको दर्शनमा, पाउलो फ्रेरेको नाम अत्यन्तै श्रद्दा एवम् सम्मानका साथ लिइएको छ। उनी सन् १९२० मा ल्याटिन अमेरिकाको सबैभन्दा सघन जनसंख्या भएको ब्राजिलमा जन्मेका थिए। उनी आफ्नो देशको साक्षरता अभियानसँग नजिकबाट सम्बन्धित थिए। त्यस समयमा उनले आफ्नो देशका विभिन्न भागहरू भ्रमण गरे। यसै बीचमा, उनले कामको अवधिमा शोषण देखे, बुझे र विश्लेषण गरे। पाउलो फ्रेरेले सन् १९७० मा लेखेको “Pedagogy of Oppressed” मा त्यस समय सापेक्ष उत्पीडक र उत्पीडित बिचको संबन्धको बारेमा व्याख्या गरेका छन् भने आज नेपालको राजनितिक एवम् सामाजिक परिवेश पनि झण्डै झण्डै फ्रेरेको किताबमा प्रस्तुत गरिएको परिवेशसंग मिल्न खोजेको प्रतित हुन्छ। त्यतिबेला उत्पीडित र उत्पिडक जन्मिनुमा अज्ञानता प्रमुख कारण थियो भने आज शिक्षा। शिक्षित भएकै कारणले होला आज हामी नेपालीहरु शोषित भइरहेको थाहा हुँदाहुँदै पनि मौन छौं। अनि हामी आफैं गुनासो गर्छौं कि देश पछाडीतिर धकेलिइरहेको छ। त्यो पछाडि धकेल्ने अरु कोही नभएर हामी आफैं हौं। हुन सक्छ हाम्रो मनमा त्यो कसरी भन्ने प्रश्न उठ्ला- एकचोटी फेरि आफूभित्र नियालेर प्रश्न गरौं त, जवाफ हामी भित्र नै छ। एउटा शासनकालमा शोषित भइयो भनेर शोषित समाजबाट नै उत्पीडित वर्गका शिक्षितहरुले शोषणलाई अन्त गरी एक मुक्त समाजको परिकल्पनाबाट चुनिएका भलाद्मीहरु सत्तामा पुगेका छन्। सत्ताधारी, जो जनताको सेवक बन्छु भनेर वर्तमान समयमा जिम्मेवारी वहन गरेका छन्। र उनीहरु नै हिजोका शासकको स्थान ग्रहण गरेपछि जुन सपना बोकेर उत्पीडनको अन्त गरिएको थियो; कसरी पूरा हुन्छ? यसले त अर्को उत्पीडकको जन्म गराएको भान हुन्छ।
यदि समाजमा यसैगरी एक उत्पीडकको अन्त गर्न अर्को उत्पीडकले जन्म लिदैं जाने हो भने स्वतन्त्र र मूक्त समाजको परिकल्पना कल्पनामा मात्र सीमित रहने छ। यसमा दोष कस्को? हिजोको शासन प्रणाली, आजको राजनीति या हामी समाजमा आफूलाई शिक्षित कहल्याउने वर्ग? हिजोको परिवेश बुझ्न सकिन्छ कि जब अज्ञानता थियो मानिसमा विरोध गर्ने, प्रश्न गर्ने सक्षमता हुदैन। जसको फलस्वरुप मौन भएर अन्याय सहन बाध्य थिए। तर आज परिस्थिति अर्कै छ, समाजमा परिवर्तन आइसकेको छ। व्यक्तिलाई चित्त नबुझेको कुरामा प्रश्न सोध्ने अधिकार छ। यही त हो प्रजातन्त्रको उपलब्धी! तर पनि किन हामी मौन छौं?
केही शिक्षित वर्गहरुमा यो मौनताको संस्कृति चिरेर स्वतन्त्र हुन चाहने शुक्ष्म उथुल पुथुल देखिएता पनि उनीहरु कहांबाट शुरुवात गर्ने भन्ने बारे अन्योलमा भेटिन्छन्। विगत केही समयदेखि मैले पनि समाजका केही विद्वान वर्गहरुसंग उठबस गर्ने मौका पाएको छु। उहांहरुमा राज्यमा भइरहेको पुनः अर्को उत्पीडनको खेलले उब्जाएको आक्रोश देख्न र सुन्न पाएं। तर अझै पनि उहांहरुको त्यो आक्रोश आफैंमा सीमित छ, शायद त्यो पनि उहांहरुको शिक्षाको कारणले नै थिचिएको हो कि जस्तो लाग्यो।
म आफुपनि समाजले शिक्षित भनेर छुट्याएको वर्गभित्र नै पर्ने र शिक्षाकै क्षेत्रमा कार्यरत भएर होला शिक्षालाई नै हतियार बनाएर यो अधिनायकवादीको अन्त्य गरी सही अर्थमा लोकतन्त्रको प्रत्त्यायोजन कसरी गर्ने होला ? मनभित्र उकुस मुकुस चलिरहन्छ।
इतिहास साक्षी छ। परिवर्तन तब संभव हुन्छ जब मौनताको बाँध टुट्छ; बाढीको ठूलो भेल आउँछ। भेलले को सत्ताधारी या को शक्तिशाली भन्दैन र सबैलाई आफूसंगै बगाएर लैजान्छ। तसर्थ आजको सत्ताधारीहरुले यो बुझ्नु पर्छ कि उनीहरु पनि कुनै समयमा आएको त्यस्तै भेलबाट किनार लाग्न सफल थेग्रा हुन् भनेर। यसकारण पनि अहिले भेल शान्त छ भनेर कमजोर सम्झिने, नियन्त्रणमा राख्न खोज्ने भूल गर्नु हुदैन। जुन दिन ती शिक्षित वर्गहरुको चेतना सिर्जनशील बनेर वहन थाल्छ, जब उनीहरुको मौनताको बाँध टुट्छ, बाढी अथाम्य हुनेछ।
यसर्थ अब समय आइसकेको छ कि बाँध टुट्नु पर्छ। समाज तथा सत्ताधारीहरुलाई वोध गराउनु पर्छ कि समय गतीयमान छ र यदि समयमा आफ्नो सोच एवम् कदम बदलिएन भने जुनसुकै बेलामा बाढी आउन सक्छ। आफ्नो मौनतालाई संस्कृति बन्नबाट रोकौं र शक्तिमा परिणत गरौं। अधिकार र चेतनाको प्रयोग गरौं र देशलाई पिछडिनबाट जोगाऔं। मेरो भनाइको सार यति नै। मैले त केबल विषय उठाएको मात्र हो। यसमा गहन चिन्तन, वहस गरौं र पुनः एकपटक परिवर्तनको निम्ति अहिंसात्मक रुपमा लागिपरौं।
- पुनम कुइकेल शर्मा