नेपालमा जीवनोपयोगी शिक्षाको आवश्यकता
“‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ मूल नाराका साथ यस वर्षको शिक्षा दिवस सभ्य र भव्य रुपमा मनाउन सम्पूर्ण शिक्षण संस्थानहरुलाई अनुरोध गरिएको छ”- 2073 को आदर्शको वाक्यको रुपमा देशका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएको थियो। यसरी आजभन्दा तीन वर्षअगाडि नै उत्घोषित बाक्यको अभ्यास आजसम्म पनि किन हुन सकेन? यो सम्पूर्ण शिक्षाविद्हरूको लागि महत्वपूर्ण प्रश्न हो। कता-कता प्रवर्तन र विकास का कुराहरु हाम्रो देशमा केवल नाममा मात्र सुसज्जित हुने संस्कार विकसित हुँदै गइरहेको भान पर्दछ। हुनतः गुणस्तरीय शिक्षाको बारेमा सघन बहस पटक-पटक नचलेको पनि होइन। गुणस्तरीय शिक्षामा जोड दिन नै 2074/75 मा चुनिएको राष्ट्रिय शिक्षा आयोगले आफ्नो लागि सक्दो मेहनतले पाठ्यक्रम प्रतिवेदन तयार पारेको पनि थियो। तर त्यसको के भयो भन्नेबारे विस्तारमा जानकारी मलाई नभएकोले त्यसमा बोल्नु भन्दा पनि यसपाली शिक्षाक्षेत्रमा चिनाउन खोजिएको जीवनोपयोगी शिक्षाको विषयमा मेरो रुचि र केही दखल पनि रहेकोले त्यसैका बारेमा केही भन्न मन लागेको छ।
गुणस्तरीय शिक्षा भन्नेबित्तिकै शिक्षालाई उत्पादनमा जोड दिने शिक्षा भनेर परिभाषित गरेको पनि पाइन्छ। अहिले औपचारिकरुपमा पठनपाठन हुँदै आएको शिक्षालाई गुणस्तरीय शिक्षा मान्ने कि नमान्ने एउटा पाटो छ भने अर्को व्यक्तिको शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक विकास गर्दै दैनिक जीवनलाई सुखमय एवं स्तरीय बनाउन शिक्षालाई,जीवनोपयोगी शिक्षाको साँचोमा ढाल्नुपर्ने अर्को पाटो रहेको छ।
शिक्षाको आवश्यकता भनेको ज्ञानको एकातिर विकास गर्ने हो भने अर्कोतिर त्यही शिक्षाले जीवन सहज बनाउन जीविकाको श्रोत प्राप्ति गर्ने साधनको भूमिका पनि खेल्दछ। त्यसो हो भने शिक्षालाई जीवन निर्वाहका लागि चाहिने ज्ञान, सीप अभिवृद्धि, समालोचनात्मक चेत विकास गर्न सघाउ पुर्याउने कडी, जीवनमा आइपर्ने विभिन्न समस्याहरूको स्व-विवेक तथा तार्किक रुपले समाधान गर्न सिकाउने साधनको रुपमा स्थापित हुनुपर्ने जस्तो लाग्छ।
जीवनोपयोगी शिक्षा कसैकसैले सिटिभिटि ले दिने तालिम सँग पनि जोडेर परिभाषित गरेको पाइयो।तर वास्तविकतामा त्यो तालिम भन्दा जीवनोपयोगी शिक्षा धेरै नै भिन्न छ।यसर्थ पनि जीवनोपयोगी शिक्षाको बारेमा प्रकाश पार्न जरुरी देखेको छु। जीवनोपयोगी, अर्थात् जीवन निर्वाहको लागि उपयोगी,जसले प्रत्येक व्यक्तिको जीवनलाई सहज रुपमा बाच्ँन चाहिने सुन्दा सामान्य लाग्ने तर विशेष भूमिका खेल्ने दक्षता वृद्धिमा मद्दत गर्दछ। व्यक्तिमा असल गुणको विकास, नैतिक आचरणको विकास, अनुशासन, विनयशीलता, प्रगतिशील, समालोचनात्मक एवम् तार्किक सोच, आफूमा नीहित शक्तिको समझ तथा सन्तुलन गर्नको लागि व्यक्ति स्वयंमा हुनुपर्ने प्रभावकारी सोचाइ सीप, अनुकुल मात्र होइन बिषम परिस्थितिको विचलित नभइ सामना गर्न सक्ने सीप, समस्या पहिचान एवम् समाधान गर्न सक्ने सीप, द्वन्द व्यवस्थापन गर्ने सीप आदि जीवनोपयोगी शिक्षको प्रभावकारिताका उदाहरणहरु हुन्।
आखिर के हो त जीवनोपयोगी शिक्षा?
बजारको माग र आवश्यकतानुसार वस्तु रूपीय दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालाई गुणस्तरीय शिक्षामा सिमित गरिरहँदा व्यक्तिको जीवन बुझ्न र उसको आचरणसँग पनि शिक्षा जोडिएको हुन्छ भन्ने मान्यता थिचिँदै गएको पाइन्छ। शिक्षालाई केवल जीवन निर्वाहको वस्तु वा श्रमसंग मात्र नजोडेर नैतिकता, आचरण, अनुशासन, संस्कार, सभ्यताका साथै जीवन र जगत बुझाउने जीवन-ज्ञानलाई पनि समेट्नु आवश्यक छ। समय गतिशील छ; त्यसैगरी शिक्षा पनि समय सापेक्ष गतिमान हुनुपर्दछ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन। साथै कसैमाथि पनि उसको इच्छा, चाहना, सपना, उदेश्य विरुद्द लादिएको शिक्षा कतइ पनि गुणस्तरीय हुदैन। यसर्थ पनि शिक्षामा द्रुत परिवर्तनको खाँचो देखिएको छ।
जीवनपर्यन्त चाहिने सीप नै जीवनोपयोगी सीप हो र यही सीप सिकाउने शिक्षा नै जीवनोपयोगी शिक्षा हो।। अर्को अर्थमा भन्नुपर्दा, कुनै पनि कार्य पूरा गर्न को लागि दुई कुराको आवश्यकता हुन्छ – (1) विचार अथवा योजना, तथा (2) प्रयोग अथवा व्यवहार। जीवनोपयोगी शिक्षा, योजना अथवा विचार पक्ष हो तथा त्यसको सिकाइ , व्यवहार अथवा प्रयोगात्मक पक्ष हो। जीवनोपयोगी शिक्षालाई वाल्यकालदेखि नै जोड्दै लैजान सके व्यक्तिको जीवनलाई हेर्ने दृष्टिकोणमा धेरै नै परिवर्तन ल्याउन सकिन्छ। आफू र समाजका सम्बन्ध राम्रोसंग बुझ्न र जीवनमा आइपर्ने हरेक किसिमको संवेदना जस्तै- रिस, डर, लाज, सद्भाव, प्रेम आदिलाई व्यवस्थापन गर्न जीवनोपयोगी शिक्षाको आवश्यकता पर्छ। त्यस्तै, व्यक्तिलाई समाजका विभिन्न पक्षहरु, घर परिवार, छरछिमेक, साथीभाईहरुसंग राम्रो सम्बन्ध राख्न, समाजले परिभाषित गरेको संबन्धहरुलाई पारस्परिक सम्मान तथा उचित महत्त्व दिन, समुदायप्रति जवाफदेही र उत्तरदायी बनी सहयोगी भावनाको विकास गर्नका साथै व्यक्तिलाई सचेत, व्यावसायिक र स्वावलम्बी बनाउन जीवनोपयोगी सीपको खाँचो छ। शिक्षामा जीवनोपयोगी सीपको समावेश गर्नाले साक्षरता सीप, सान्दर्भिक सीपका साथै समग्र सीपको पनि विकास गराउन सकिन्छ।
माथि उल्लेखित सीपहरुलाई मसिनोसंग केलाएर हेर्दा, साक्षरता सीप भनेको शिक्षा जीवनको आधार हो र यो ज्ञान, सीप र क्षमता प्राप्तिको माध्यम पनि हो। यी ज्ञान, सीप र क्षमता वृद्दिको लागि पढ्नु पर्छ वा साक्षर हुनुपर्छ। जसको लागि हरेक देशमा शैक्षिक संस्थानहरुको प्रादुर्भाव भएको हो। किनभने शिक्षाको ज्योतिले नै सुखी र समृद्द जीवनको परिकल्पना गर्न सकिन्छ। निचोड, एउटा व्यक्तिलाई सामान्य लेखपढ गर्न सिकाउनु जसले उस्को जीवन सहज हुन्छ नै साक्षरता सीप हो।
अर्को, सान्दर्भिक सीपले विषयगत ज्ञान र त्यसको उपयोग सिकाउछ। मानिसको जीवन सुखमय बनाउन, आइपरेका समस्याहरुको सामना गर्न, स्वच्छ जीवन बाँच्न विविध ज्ञान र सीपहरुको आवश्यकता हुन्छ। जस्तै- उधमशीलता, आय आर्जन, स्वास्थ्य तथा सफाइ, वातावरण संरक्षण, लैङ्गिक समानता आदि विषयगत ज्ञान र त्यसको उपयोग।
त्यसैगरी समग्र सीप जुन विषयगत भन्दा व्यवहारजन्य सीप हो। यो विविध अवस्था र सन्दर्भमा आवश्यक पर्ने सीप हो। साक्षरता सीप र सान्दर्भिक विषयवस्तुहरु अत्यावश्यक भएता पनि प्राप्त जानकारीहरुलाई व्यवहारिक जीवनमा कसरी उतार्ने र ग्रहन गरिएको शिक्षालाई कसरी गुणस्तरीय बनाउने समग्र सीपले सिकाउछ। अर्थात् साक्षरता सीप र सान्दर्भिक सीपलाई कसरी व्यवहारजन्य बनाउने समग्र सीपले प्रष्ट पार्छ।
जीवनोपयोगी शिक्षा ग्रहण पश्चात् देखिने रुपान्तरण र त्यसले ल्याउने दिगोपन
समाजमा आफूले भनेको मात्र लागू हुनुपर्छ भन्ने हुदैन। भिन्नता र द्वन्द व्यवस्थापनका लागि केही लिने र केही छोड्ने गरेर सम्झौता गर्नुपर्ने हुन्छ। लिने दिने कुरामा व्यक्तिगत स्वार्थभन्दा सामूहिक फाइदा, आपसी सद्भाव, अनुभूतिलाई जोड दिनु पर्दछ। एक अर्काको पक्ष सुन्ने र बुझ्ने, समाजमा अरुहरुको सल्लाह लिने, अनिमात्र तत्कालिन र दीर्घकालिन व्यवस्थापनका निर्णय लिन अनुकूल वातावरण सिर्जना हुन जान्छ।
त्यस्तै दुःख पीडा, विनाश, विपद् सबैलाई आइपर्छ र यसबाट उत्पन्न तनाव, समस्या र कठिनाई पनि सबैलाई हुन्छ। यस्ता समस्याहरुको जति सक्यो छिटो समाधान गर्ने वा आफूलाई मुक्त गराउन सक्यो त्यति नै राम्रो हुन्छ र विषम परिस्थितिबाट सामान्य परिस्थितिमा आउन सक्नु पुनर्स्थापना सीप हो जुन जीवनोपयोगी सीपबाट मात्र संभव छ। जसले समस्या पहिचान गरी समाधानतिर अग्रसर हुन, आफ्नो र अरुको पीर मर्काको आदान प्रदान गर्न, आशावादी हुन, लचिलो हुन साथै द्धृढ निश्चयी हुन सक्ने व्यवहारिक ज्ञानको विकास गराउने र समस्याबाट छिटो उम्कन सहयोग पु-याउछ।
साथै, ज्ञान तथा सीप भनेको सधैं अरुले सिकाएर सिक्ने र निश्चित समय सीमामा सिकाउने कुरा होइन। सिकाइ भनेको निरन्तर हुनुपर्छ र आफैंले पनि नयाँ कुराहरु सिक्दै र सिकाउदै जानुपर्छ। यसका लागि आवश्यक जानकारी, ज्ञान, सीप कहाँबाट पाउन सकिन्छ सो को जानकारी राख्ने, त्यसलाई आफूले सिक्न; अरुसंग छलफल गर्ने, सिकेको कुरा व्यवहारमा प्रयोग गर्ने, त्यसको मूल्यांकन र आवश्यकता अनुसार सुधार गर्ने प्रकृयाबाट पनि सिकाइलाई निरन्तरता दिन सकिन्छ। सिक्नका लागि आफू सधैं खुला र ग्रहणशील हुनुपर्छ जुन जीवनोपयोगी शिक्षाले सिकाउँछ।
तसर्थ, यसरी सिकेको वा ग्रहण गरेको शिक्षाले व्यक्तिलाई जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि धैर्यताका साथ चुनौतिहरुको सामना गर्ने, चुनौतिहरुमा नै अवसरको खोजी गर्न सक्ने दक्षताको विकास गर्छ। र यसरी प्राप्त गरेको शिक्षा नै दिगो र भरपर्दो हुन्छ। अर्को अर्थमा जीवनोपयोगी शिक्षाले आफ्नो हितभन्दा माथि उठेर संपूर्ण समुदायको हितको बारेमा सोच्न सक्ने बनाउने भएकोले यसले सबै मानवजातिको कल्याण, समाजको विकास, वातावरणलाई न्याय दिन उचित मार्गदर्शन गर्दछ।
निचोड
कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षाबाट वंचित छन् भने कति शिक्षित हुंदाहुंदै पनि समय सापेक्ष शिक्षा नहुंदा शिक्षित हुनुको प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन्। जसको फलस्वरुप लाखौं नेपाली युवाहरु विदेशिन वाध्य छन्। र कति पराइ भूमिमा रगत पसिना बगाउँदा बगाउँदै ज्यान गुमाइरहेका छन्। यी सबका विभिन्न कारणहरु भएतापनि एक प्रमुख कारण भने शिक्षालाई जीवन र जगतसंग गाँस्न नसक्नु नै रहेको छ। शिक्षामा सुधार अनिवार्य र अपरिहार्य हो शिक्षालाई जीवनोपयोगी बनाएर देशभित्र नै रोजगारीको अवसर सिर्जना गरी दक्ष जनशक्तिहरुलाई विदेशिनुबाट रोक्नु आजको आवश्यकता हो।
शिक्षाको गुणस्तरलाई बहुआयामिक तथा बहुधारणात्मक जुनसुकै पक्षबाट हेरिएता पनि यसको मुलभूत उदेश्य भनेको नैतिक आचरण, अनुशासन, संस्कार, सभ्यता, सीप सिर्जना समेतको सामाजिक सद्भावसंग गांसिएको व्यक्तिगत, समाज र सिंगै राष्ट्रको विकासमा सघाउ पुर्याउनु हो। शिक्षालाई रोजगारीसंग मात्र सीमित नगरी फराकिलो र गहिरोसंग हेरिनु पर्दछ।यसर्थ पनि भन्न सकिन्छ कि गुणस्तरीय शिक्षाको एक मूल आयाम भनेको जीवनोपयोगी शिक्षा नै हो।
Poonam Kuinkel Sharma