मनसुनी गतिविधि अझै बढ्ने, दशैँसम्मै पानी पर्ने सम्भावना छ
नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जल वाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्याे वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । 'केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो', उहाँले भन्नुभयो ।
पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो तर यसवर्ष १० दिन ढिलो गरी (जुन २०) असार ५ मा मनसुन भित्रिएको थियो । गएकाे वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । त्यसअनुसार दशैँको सुरुवाति दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।