नागरिक पोष्ट News


मिडिया काउन्सिल विधेयक :पत्रकारको बन्न परीक्षा दिनुपर्ने, योग्यता स्नातक उपाधी हुनुपर्ने

1.6K

सांसदहरुले मिडिया काउन्सिल विधेयकमा पत्रकारको योग्यता तोक्नु पर्नेसहितको संशोधन दर्ता गराएका छन् ।

सत्तारुढ नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने र यसको जिम्मामा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिलाई दिनु पर्ने उल्लेख गरेका छन् । संशोधन प्रस्तावमा भनिएको छ ‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम,स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिनेछ ।’

मिडिया काउन्सिल विधेयकमाथि गरिएको संशोधन प्रस्तावमा पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ । सो योग्यतासहित नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएकाहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने सो संशोधन प्रस्तावमा उल्लेख छ ।

कुन देशमा कस्तो व्यवस्था ?

नेपालमा पत्रकारका लागि शैक्षिकसहित अन्य योग्यता तोक्ने र परीक्षा लिने गरी कानुन बन्न लागेपछि बाह्य मुलुकमा कस्तो व्यवस्था रहेछ भन्नेबारे जिज्ञासा पनि राखिएको छ । नेपालमा पत्रकार बन्नका लागि परीक्षा लिने कानुन बनाउन लागिएको छ । तर, दक्षिण एसियामा यस किसिमको व्यवस्था छैन । भारत, पाकिस्तान, बाङ्गलादेश, श्रीलङ्का, भुटानमा पत्रकार हुनको लागि अनिवार्य रुपमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छैन ।

यस्तै अमेरिका, बेलायत, साउथ अफ्रिका, सिंगापुर, मलेसियामा पनि पत्रकारहरूका लागि अनिवार्य परीक्षाको व्यवस्था छैन । अमेरिकामा प्रेस पास प्राप्त गर्न अनिवार्य परीक्षाको व्यवस्था छैन। तर, पत्रकारिताका लागि प्राप्त गर्न प्रेस पाउन भने कठिन रहेको एक अध्ययनले जनाएको छ । अमेरिकामा प्रेसले नै सरकारलाई प्रभावकारीरुपमा सचेत र सजग गराउने गरेको छ । तर, पनि त्यहाँ पत्रकारको परीक्षा लिने व्यवस्था छैन ।

बेलायतमा पत्रकारिता पेशा अपनाउन परीक्षामा दिनुपर्ने चलन छैन। त्यहाँ स्थित नेशनल काउन्सिल फर द ट्रेनिङ् अफ जर्न्लिस्टस्बाट प्रशिक्षण लिएका पत्रकारलाई केहि सञ्चारगृहले प्राथमिकता दिए पनि सो संस्थाबाट प्रशिक्षण लिनैपर्छ भन्ने छैन। इटलीमा भने पत्रकार हुन, पहिले १८ महिनाको इन्टर्नसीप गर्नुपर्छ र त्यसपछि लिखित र मौखिक परीक्षामा पास भएपछि मात्र अर्डर अफ जर्न्लिस्ट्सको सदस्यता पाएर व्यवसायिक पत्रकारका रूपमा काम गर्न पाइन्छ । तर, आर्थिक मन्दि बढेसँगै यो नियम अनिवार्य रूपमा लागू भएको छैन । यता इक्वेडरमा भने परम्परागत मिडियामा (अनलाइनबाहेक) पत्रकार हुनका लागि पत्रकारिता पढेको हुनु पर्ने भए पनि परीक्षा दिनु पर्ने व्यवस्था छैन ।

Must View