बाजुरामा रहेकी बडिमालिका : धार्मिक एवं ऐतिहासिक पर्यटकीय गन्तव्य
तस्वीरहरु : माेनिका देउपाला
कालीकोटबाट हिंडेर बडिमालिका पुग्न एक दिन लाग्छ भने जुम्ला र डोटीबाट ८–९ दिन ।
सुदूर र र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन् । तीमध्ये बाजुरामा रहेकी बडिमालिका कान्छी मानिन्छिन् । मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि बस्ने भएकाले वर्षेनि जनैपूर्णिमामा उनलाई पूजा पुर्याइन्छ ।
जनैपूर्णिमाको एक दिनअघि तीर्थयात्रीहरू बडिमालिका पुग्छन् र यात्राको हरेक चरणमा बडिमालिका देवीको यात्रा वर्णन गर्दै गीतहरू गाउँछन् । दाजुले नजिकको ठाउँ कैलाशमा आफ्नो वासस्थान रोजेपछि आफू भने टाढा जानुपर्दा दाजु–बहिनीको यस्तो संवाद बाजुराका किट्टी बिक, पद्मा बिक र देवी बिक गाएर सुनाउँछन् ।
अर्थात् बडिमालिकाका दाजुले बहिनी जहाँ, जति टाढा भए पनि मानिसका हातबाट उनलाई चाहिने जति सबै चीज त्यहीं पुर्याउने वाचा गर्दछन् । त्यसै अनुसार जनैपूर्णिमाको तीन दिनअघि वरिपरि सात जिल्लाका मानिस त्रिवेणीको फाँटमा पुग्छन् ।
बाजुराबाट हिंडेर आउँदा करीब ३५०० मिटरको उँचाइ चढिसकेपछि झण्डै समतल देखिने फाँटहरूमा पुगिन्छ । यो मौसममा ती फाँटमा जता हेर्यो त्यतै हरियाली देखिन्छ । त्रिवेणी फाँटमा रङ्गीविरङ्गी फूल फुलिरहेका हुन्छन् । आँखाले देखेसम्म रातो, पहेंलो, नीलो, वैजनी, सुन्तले र ती बीचका इन्द्रेणी रङ्गका फूलहरू फाँटमा झुलेको देख्दा मन्त्रमुग्ध नहुने कोही हुँदैन ।
From : Himalkhabar.com अविश्वसनीय, अविस्मरणीय बडिमालिकामनोरम दृश्यले निकै लोभ्याउँछ । टाढा टाढासम्म किन कुनै घर छैनन् ? किन कोही मानिस यहाँ बस्दैनन् ? मनमा प्रश्न उठिरहन्छन् । दिउँसै कुहिरो लागेर जतिखेर पनि सिमसिम पानी परिराख्ने भएपछि मानिसको रासोवासो कसरी होस् ? त्यसो त उत्तर पनि हिंड्दा हिंड्दै भेटिन्छ ।
त्रिवेणीको फाँटबाट दुईतिरबाट बग्दै आएका नदी गङ्गा र जमुना मिसिइरहेको देखिन्छ । अन्यत्र जस्तै यहाँ पनि त्रिवेणीमा सरस्वती विलुप्त भएको मानिन्छ । फाँटभरि जताततै स–साना पोखरी छन् । वर्षमा एक दिन यो फाँट रङ्गीविरङ्गी पाल र विशेषतः आन्तरिक पर्यटकको भीडले भरिभराउ हुन्छ ।