संस्कार तीजको ब्रत ! दर भ्रम र खानपानको आवश्यकता, तीजमा दरको महत्व
- मीरा शाह
आहार तथा पोषण विशेषज्ञ, कीर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल
खासगरी हिन्दू धर्मावलम्बी महिलाहरुमा तीजले विशेष महत्व राख्छ । तीजको ब्रत लिने प्रचलन सनातन युगदेखि चलिआएको संस्कार हो । खासगरी यो दिन हिन्दू महिलाहरू पतिको लामो आयु, सु—स्वास्थ्य एवं सौभाग्यताको कामनासहित निराहार ब्रत बस्छन् । यो एउटा पबित्र ब्रत हो । भाद्र महिनाको शुक्लपक्ष तृतीया तिथीलाई हरितालिका तीजका रुपमा मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दर खाने चलन छ । तर अहिले आधुनिकताको होडबाजीमा महिना दिन अघिदेखि नै दरको पार्टी गर्ने प्रचलन मौलाएको छ ।
यद्यपी आधुनिकताको होडबाजीमा हामी आफ्नो संस्कृति र सभ्यतालाई बिर्सिरहेका छौं । यो राम्रो होइन । हिन्दू परम्पराअनुसार, छोरी, चेलीलगायत परिवारका सबै सदस्य सँगै बसेर दरका रुपमा खीर मिठाई, फलफूललगायतका मिष्ठान्न भोजन गर्ने प्रचलन छ । गुलियोलगायतका शक्तिबर्धक खानाले भोलिपल्ट दिनभर इनर्जीको काम गर्दछ । प्यास लाग्दैन र शारीरिक रुपमा फूर्तिलो महशुस गराउँछ । तर अहिले दर खाने चलन फरक भइसकेको छ । चिल्लो, तारेको माछा मासु, पुरी, गरिस्था भोजन गर्ने गरिन्छ । यहाँसम्म कि कतिपय व्यक्तिहरु मदिरा पिउन सम्म पनि पछि हटेको पाइँदैन । महिना दिन अघिदेखि नै पैसाको होडबाजीमा गहना, लुगालगायत बिलासिलताका बस्तुहरु प्रयोगमा देखासिकी गरेको पाइन्छ । ब्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो हो । तर ब्रत बस्दा आफ्नो शारीरिक अस्वस्थताको पनि ख्याल गर्नुपर्छ । आफूलाई रोग भएनभएको ख्याल गरेर मात्र ब्रत बस्ने निर्णय गर्नुपर्छ ।
ब्रत बस्दाका फाइदा
ब्रत बस्दा शरीरमा चिनीको मात्रा सन्तुलनमा बस्छ र इन्सुलिनको कार्यमा सहयोग पुर्याउन मद्दत पुग्छ । तर आफ्नो शारीरिक अवस्था हेरेर पानी, झोल पदार्थ र फलफूलको सेवन गर्नुपर्छ ।
ब्रत बस्नाले शारीरिक कमजोरी हटाई, विभिन्न संक्रमण हुनबाट बचाउन मद्धत गर्छ । यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । मुटु तथा उच्च रक्तचाप सन्तुलनमा ल्याउँछ ।
खराब कोलेस्टेरोल, ट्राइग्लिसेराइड आदिको स्तर ठीक राख्छ । मस्तिष्क एवं न्युरो डिजेनेरेसन रोग तथा जवानीको उन्मादलाई सम्यमित बनाउँछ र दिमागका रक्तकोशिकाहरुको कार्यलाई सामान्य अवस्थामा राख्न मद्धत गर्छ ।
मोटोपना घटाउन र तौल नियन्त्रणमा मद्दत गर्छ । साथै हर्मोनको कार्य सामान्य अवस्थामा राख्न सहायक भूमिका खेल्छ ।
ब्रत बस्ने व्यक्तिको आयु लामो हुनुका साथै बुढेसकालमा अल्जाइमर्सलगायतका रोग हुनबाट जोगाउन मद्धत गर्छ ।
यसको बेफाइदाहरु
मधुमेह, पेट पोल्ने, मिर्गौलाको समस्या, अस्पताल भर्ना भएका बिरामी र बुढी आमाहरुले खाली पेट बस्न राम्रो हुँदैन । ब्लड प्रेसर लो भएका महिलाहरुलाई ब्रत बस्दा फलफूल, जुस्, दूध, दही, सर्बत, पानी, आदिको सेवन गर्न दिनुपर्छ ।
शारीरिक अवस्था राम्रो नभएका महिलाहरुले उपवास बसेको कुनै अर्थ हुँदैन । अन्य जोखिम सृजना हुन्छ ।
तीजको दिन बिहान आफ्नो नित्य पूजा सकेर केही खाने, अनि रमाइलोका लागि नाचगान गर्नुपर्छ । केही नखानेहरु ब्रत बसेको दिन ढलेका उदाहरण पनि देख्न पाइन्छ । त्यसैले यसप्रति ख्याल गर्नुपर्छ ।
फलफूलमा फ्रुक्टोज, सुक्रोज, ग्लुकोजलगायतका चिनी पाइन्छ । यिनीहरुले एकै किसिमका शक्ति प्रदान गर्दछन् । यस्ता चिनी शरीरभित्र प्रवेश गरेपछि इनर्जी उत्पादन भएर शक्ति प्राप्त हुन्छ ।
दिनभर भोकै बसेर आफ्नो शरीरलाई कष्ट दिनुहुँदैन । शरीर स्वस्थ नभएको अवस्थामा ब्रतको कुनै अर्थ रहँदैन । हामी बाँच्न भोजन गर्छौं तर भोजनका लागि पक्कै बाँच्दैनौं ।
ब्रतको दिन मिश्री काढाको सेबन गर्न सकिन्छ । यसले शरीरमा शक्ति प्रदान गर्दछ र तीर्खा, प्यास मेटाउन मद्दत गर्दछ । अघिल्लो दिन दर खाने दिनमा कहिल्यै पनि मासु जस्ता खानेकुरा नखानुहोला । पचाउन गारो हुनुका साथै धेरै तीर्खा लाग्दछ । यसले अन्य समस्याको जोखिम बढाउँछ ।