जमिनमुनिको पानी धेरै तान्दा के हुन्छ ? भासिन सक्ने खतरामा ! इन्डोनेसियाको जाकार्ताको अबस्था
भूमिगत पानीको अत्यधिक दोहनले माटो सुख्खा भई क्रमिक रूपले भासिँदै जान्छ। त्यहाँका भौतिक संरचना प्रभावित हुन्छन् र अन्ततः मानव बसोबास संकटमा पर्न सक्छ। यस्तै समस्या आएपछि दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाले आफ्नो राजधानी सार्ने निर्णय गरेको छ।
राष्ट्रपति जोको विडोडोले जकार्ताबाट राजधानी सारेर कालिमान्टन प्रान्तको बोर्नियो टापुलाई नयाँ राजधानी बनाउन लागेको जानकारी दिएका छन्नाम तोक्न बाँकी नयाँ राजधानी १ लाख ८० हजार हेक्टर जमिनमा बनाइनेछ। संरचना बनाउन एक दशक समय र साढे ३२ अर्ब डलर लगानी हुनेछ।
जकार्तामा १० करोड बढी मानिस बस्छन्। त्यहाँको माटो दलदले छ भने सहरका केही भाग प्रत्येक वर्ष २० सेन्टिमिटरका दरले डुब्दै गएका छन्।
जकार्ताको झन्डै आधा भाग समुन्द्रको सतहमुनि पर्छ। प्राकृतिक विपत्तिका हिसाबले निकै संवेदनशील मानिएको जकार्ताबाट राजधानी सार्ने कुरा निकै पहिलेदेखि चल्दै आएको थियो।
भूमिगत पानीको अत्यधिक दोहनले जकार्तामा देखिएको भौगोलिक प्रभावबारे इन्डोनेसियाको बान्डुङ इन्स्टिच्युट अफ टेक्नोलोजी (आइटिबी) ले लामो समयदेखि अनुसन्धान गर्दै आएको छ। उक्त अनुसन्धानअनुसार जकार्ता अहिलेकै दरमा भासिँदै गए १० वर्षभित्र सहरको एकचौथाइ भाग पानीमा डुब्नेछ।
जकार्ताको कुल ६ सय ६१ वर्गकिलोमिटरमध्ये सन् २०२५ सम्म ३५ प्रतिशत भूभाग पानीमा डुब्ने उक्त अनुसन्धानको निष्कर्ष छ। ‘उत्तरी जकार्ताको मात्र ९० प्रतिशत भूभाग सन् २०५० सम्म पूर्ण रूपले पानीमा डुब्नेछ,’ अनुसन्धान टोलीका सदस्य हेरी एन्ड्रियसलाई उद्धृत गर्दै द जकार्ता पोस्टले लेखेको थियो।
आइटिबीले सन् १९२५ देखि २०१५ सम्मको स्याटलाइट तस्बिरका आधारमा विश्लेषण गर्दा १९७५ बाट जमिन भासिने क्रम सुरु भएको देखिन्छ। उत्तरी जकार्ता सबभन्दा बढी प्रभावित छ। अनुसन्धानकर्ता एन्ड्रिसका अनुसार पछिल्लो दस वर्षमा उत्तरी जकार्ता वार्षिक औसत २.५ सेन्टिरमिटरका दरले भासिँदै गएको छ। केही स्थानमा भासिने दर २५ सेन्टिमिटरसम्म पाइन्छ। मरुन्डा र सिलिन्सिङजस्ता ठाउँका भूभाग सन् २०१५ यता १.५ मिटर भासिएको छ। केलापा गाडिङमा यो दर २.४ मिटर छ। सबभन्दा प्रभावित प्लूट हो, जहाँ तीन वर्षकै बीचमा ४ मिटर जमिन भासिएको अनुसन्धानमा देखिएको छ।
सिंगो सहर नै यसरी भासिनुमा समुद्री सतह बढ्दै जानु मात्र कारण होइन। दैनिक उपभोग निम्ति अत्यधिक मात्रामा भूमिगत पानी तानिनुले जकार्ता भासिएको हो।
इन्डोनेसिया विश्वविद्यालयको गणित तथा विज्ञान विभागले गरेको अध्ययनले पनि भूमिगत पानीको अनियन्त्रित प्रयोगले सहर भासिएको खुलाएको छ।
जमिन भासिनु र भूमिगत पानीको स्रोत बढी चलाउनुमा प्रत्यक्ष सम्बन्ध हुन्छ। जुन ठाउँमा जमिनमुनिबाट अत्यधिक पानी तानिन्छ, त्यहाँको माटो सुख्खा हुँदै जान्छ। यसले जमिन भासिने र खाल्डो पर्ने समस्या देखिन्छ।
जकार्तामा पनि ठाउँ–ठाउँ जमिन भासिएर खाल्डो परेका छन्। बर्खा बेला पानी जमेर समस्या हुन्छ। उत्तरी जकार्ताका कतिपय ठाउँमा यस्ता घर थुप्रै छन्, जहाँको भुइँतल्लामा धेरैजसो समय पानी जमेको हुन्छ। जमिन भासिँदा भासिँदा सडक सतह उबडखाबड हुँदै गएका दृश्य प्रशस्तै देखिन्छन्।
भूमिगत पानीको स्रोत रित्तिन नदिन जति तानेको हो, त्यही बराबर ‘रिचार्ज’ (पुनर्भरण) गर्नुपर्छ भनेर वैज्ञानिकहरूले भन्दै आएका छन्। तर, तीव्र सहरीकरण र जनघनत्व बढी भएको जकार्ताजस्तो ठाउँमा भूमिगत पानी रिचार्ज हुन गाह्रो हुन्छ। अत्यधिक कंक्रिट संरचना निर्माणले यो समस्या अझ बढाएको छ। कंक्रिट संरचनाले जमिनमुनि पानी ‘रिचार्ज’ हुने ठाउँ दिँदैन।
भूमिगत पानीको रिचार्ज बढाउन सहरमा जति बढी जनघनत्व भयो, कंक्रिट संरचनाहरू जति बढे, हरित पार्क निर्माण त्यही क्रममा बढाउँदै लग्नुपर्छ। पार्क र खुला सार्वजनिक स्थलले जमिनमा पानी रिचार्ज हुन पाउँछ। हामीले जमिनमुनिबाट जति पानी तानेको हो, त्यही बराबर पुनर्भरण हुने मौका दियौं भने माटो सुख्खा हुने र भासिने जोखिम कम हुन्छ।
यही कारणले पछिल्लो समय विकसित देशका अधिकांश ठूला सहरले पार्क र खुला सार्वजनिक स्थलमा जोड दिन थालेका छन्।
इन्डोनेसिया विश्वविद्यालयका भूगर्भ वैज्ञानिक स्याम्सू रोसिदले जकार्तामा भूमिगत पानीको सतह खतरनाक ढंगले घटेको र यसले सहर भासिने क्रम तीव्र भएको बताएका छन्।
उनले सन् २०१४ देखि २०१८ सम्मको तथ्यांकका आधारमा जकार्ताको भौगर्भिक अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानले जकार्ताको तटीय क्षेत्र वार्षिक औसत ११ सेन्टिमिटरका दरले भासिँदै गएको निष्कर्ष निकालेको छ।
‘यो खासगरी भूमिगत पानी दुरुपयोगको नतिजा हो,’ उनले जकार्ता पोस्टसँग भनेका छन्, ‘यही दरमा भासिँदै जाने हो भने छिट्टै यो सहरको ठूलो हिस्सा पानीमुनि हुनेछ। यहाँका भवन र भौतिक पूर्वाधारको स्थायित्व संकटमा पर्नेछ।’
जकार्तामा खानेपानीको समस्या छ। खानेपानी पाइपलाइनले यहाँको कुल मागको ६० प्रतिशत मात्र पूरा गर्छ। बाँकी ४० प्रतिशत माग पूरा गर्ने जमिन मुनिबाट तानेको पानीले हो। भूमिगत पानी व्यवस्थापनसम्बन्धी नीति–नियम प्रभावकारी कार्यान्वयन नहुँदा यहाँ गैरकानुनी इनार र कलधारा उल्लेख्य छन्।
भूमिगत पानीको अनियन्त्रित प्रयोग हुने घरायसी क्षेत्रमा मात्र होइन। त्योभन्दा कयौं गुणा बढी प्रयोग व्यावसायिक क्षेत्रमा हुन्छ, जसको नियन्त्रण सबभन्दा चुनौतीपूर्ण हो।
जकार्ता औद्योगिक तथा ऊर्जा एजेन्सीका अनुसार यहाँका ४ हजार २ सय ३१ व्यावसायिक भवनहरूले भूमिगत पानी नै प्रयोग गर्दै आएका छन्। यसमा अधिकांश ठूला होटल र अफिस कम्प्लेक्सहरू पर्छन्। बढ्दो सहरकीकरणका कारण हरित क्षेत्र कम हुनुले पनि जमिन भासिँदै गएको भूगर्भ वैज्ञानिकहरू बताउँछन्।
इन्डोनेसियाको जकार्ताजस्तै इरानको राजधानी तेहरान पनि अत्यधिक भूमिगत पानी दोहनको परिणाम भोग्दैछ। पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको यो सहर केही समययता निरन्तर भासिँदै गएको छ। भूगर्भ वैज्ञानिकहरूले स्याटलाइट तस्बिर विश्लेषण गरी तेहरानका केही भाग वर्षको २५ सेन्टिमिटरका दरले भासिँदै गएको बताएका छन्।
जर्मन रिसर्च सेन्टरका भूगर्भ वैज्ञानिकहरूले सन् २००३ देखि २०१७ सम्मको स्याटलाइट तस्बिरका आधारमा यस्तो निष्कर्ष निकालेको ‘नेचर डटकम’ ले लेखेको छ। उक्त रिसर्च सेन्टरले तेहरान र वरिपरिको भौगर्भिक अवस्थितिबारे अध्ययन गरिरहेको छ।
करिब १ करोड ३० लाख जनसंख्या रहेको तेहरानमा खानेपानी तथा सिँचाइ निम्ति भूमिगत पानीको व्यापक प्रयोग हुन्छ। जमिनमुनिबाट अत्यधिक पानी खिच्दा भूमिगत स्रोत रित्तिन गई भासिन थालेको वैज्ञानिकहरूले बताएका छन्। अत्यधिक कंक्रिट संरचना निर्माणले यो समस्या अझ बढाएको छ। कंक्रिट संरचनाले जमिनमुनि पानी ‘रिचार्ज’ हुने ठाउँ दिँदैन।
यही कारणले तेहरानमा भूमिगत पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेकोबारे यसअघि पनि थुप्रै अध्ययन भएका थिए। जर्मन रिसर्च सेन्टरको पछिल्लो अध्ययनले नयाँ तथ्यांक सार्वजनिक गरेको हो।
अध्ययनअनुसार तेहरानको पश्चिमी क्षेत्रमा भासिने क्रम सबभन्दा तीव्र छ। यो ठाउँ वर्षको २५ सेन्टिमिटरका दरले भासिँदैछ। यो राजधानी तेहरानको अत्याधुनिक स्याटलाइट सहर र कृषिजन्य भूमि भएको ठाउँ हो। सिँचाइ र निर्माण कार्यमा प्रयोग हुने पानी भूमिगत स्रोतबाटै निकालिँदै आएको छ।
त्यस्तै, सहरको दक्षिणपूर्वमा पर्ने कृषिजन्य क्षेत्र पनि यही दरमा भासिँदैछ। यो पनि बढी भूमिगत पानी प्रयोग हुने ठाउँमा पर्छ। तेहरानका यी दुई क्षेत्रमा ठाउँ–ठाउँ जमिन भासिएर खाल्डो परेका छन्।
उता, तेहरानको दक्षिणपश्चिममा भासिने क्रम वार्षिक ५ सेन्टिमिटर छ। यो अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ हो। ‘तेहरानमा जमिन भासिने दर संसारकै सबभन्दा उच्चमध्ये पर्छ,’ स्पेनको एलिकान्ट विश्वविद्यालयका इञ्जिनियर रोबर्टो टोमसले भनेका छन्।
जर्मन रिसर्च सेन्टरको पछिल्लो अध्ययनअनुसार जमिन भासिने समस्याबाट तेहरानको सहरी क्षेत्रका १० प्रतिशत भूभाग प्रभावित छन्। दक्षिणपूर्वी क्षेत्रमा रहेका स्याटलाइट सहर र गाउँमा पनि यो समस्या बढ्दै छ।
‘यी क्षेत्रमा यसो हिँडडुल गर्दा पनि जमिन भासिएका दृश्य प्रशस्तै देखिन्छन्,’ अनुसन्धानकर्ता भूगर्भ वैज्ञानिक माहदी मोटागलाई उद्धृत गर्दै नेचर डटकमले लेखेको छ, ‘यहाँ ठाउँ–ठाउँमा सडकको सतह नै उबडखाबड छन्। पर्खालमा चिरा परेको देखिन्छ भने कतिपय भवनहरू ढल्किएका छन्। कतिपय ढल्किएका भवन पूरै भत्काउनुपर्ने अवस्था छ।’
जमिन भासिने क्रम बढ्दै जाँदा तेहरानको दक्षिणपश्चिम क्षेत्रमा कयौं किलोमिटर लामो चिरासमेत परेको छ। यो चिरा चार मिटरसम्म फराकिलो र गहिरो छ। यसले बिजुली प्रसारण लाइन र रेल्वे ट्रयाकमा असर पार्ने सम्भावना बढेको छ।
तेहरान र वरिपरिको क्षेत्रमा १ सय २० किलोमिटर लामो रेल्वे लाइन छ भने २ हजार ३ सय किलोमिटर सडक र २१ वटा पुल छन्। त्यस्तै, ३० किलोमिटर पेट्रोलियम पाइपलाइन, २ सय किलोमिटर ग्यास पाइपलाइन, ७० किलोमिटर लामो हाई–भोल्टेज विद्युत प्रसारण लाइन र २ लाख ५० हजारभन्दा बढी भवन छन्। लगातार जमिन भासिँदै जाँदा यी संरचना जोखिममा परेको भूगर्भ वैज्ञानिकहरू बताउँछन्।
यति मात्र होइन, भूमिगत पानीको प्रयोग बढ्नाले जमिनमा खाल्डा परेका देखिन्छन्। केहीअघि त्यस्तै एउटा खाल्डोमा एक स्थानीय किसान घन्टौंसम्म अड्किएका थिए। त्यो खाल्डो लगभग छ मिटर गहिरो भएको उनको अनुमान थियो।
भूमिगत पानीको दुरुपयोग रोक्न यहाँ सरकारी स्तरमा नियमन पनि हुँदै आएको छ। देशभरिमा करिब १ लाख गैरकानुनी इनारमा प्रतिबन्ध लगाइएको छ। अझै पनि ३० हजार इनार गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको अनुमान छ।
(जकार्ता पोस्ट र अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)