नागरिक पोष्ट News


जिल्ला प्रशासन कार्यालय चितवनको निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

2.1K

काठमाडौँ — सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । 

 प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ । त्यसै गरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ ।

त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो । ‘न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । 

Must View