सन्दर्भ श्रीकृष्ण जन्माष्टमी : श्रीकृष्णको जन्म र मृत्यु, यदा-यदा हि धर्मस्य ग्लानिर्भवति भारत
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ।
भगवान श्रीकृष्णले गीतामा वचन दिनुभएको छ-
यदा-यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४/७
जब-जब धर्मको लोप हुन्छ, तब-तब यस धर्तीमा मेरो अवतरण हुनेछ । जब संसारमा नकारात्मक सोच भएका मानिसहरू बढ्ने छन्, त्यो सोचलाई समाप्त गर्न म हर युगमा आउने गर्छु । भगवान श्रीकृष्ण फेरि भन्नुहुन्छ-
परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४/८।।
जसरी गर्मी बढ़नाले गरम हावा हल्का भएर माथितिर उडेर जान्छ अनि त्यो रित्तो ठाउँमा चारैतिरबाट एकाएक चिसो हावा आएर चक्रवात बन्छ, जसलाई साइक्लोन भन्छ । विज्ञानले भन्छ जब गर्मी धेरै बढ्छ, तब त्यसको अन्त्य वर्षातको रूपमा हुन्छ। आज धेरै नकारात्मकता बढिरहेको छ । भगवान श्रीकृष्ण भन्नुहुन्छ-यस्तो अवस्थामा म साधुहरूको अर्थात् जसमा साधुता, सज्जनता हुन्छ, उसको रक्षा गर्न म आउँनेछु।
रामायणमा तुलसीदासले उल्लेख गरेका छन्- जब जब होइ धरम कै हानी। बाढहिं असुर अधम अभिमानी।। तब तब प्रभु धरि विविध सरीरा। हरहिं कृपानिधि सज्जन पीरा।।
भगवान श्रीकृष्ण द्वापर युगमा अवतरित हुनुभएको थियो। भगवान श्रीकृष्ण अत्याचारी कंसलाई समाप्त गर्न आउनुभयो । दुष्टतालाई समाप्त गर्न भगवान समय-समयमा मनुष्य शरीर धारण गरेर संसारमा आउनुहुन्छ । त्यस समय आकाशवाणी भयो, 'हे कंस! देवकी तेरी बहिनी हो, तर उसको आठौं पुत्र तेरो काल बन्ने छ, उसले तेरो वध गर्ने छ।'
तब उसले देवकी र वसुदेवलाई कारागारमा बन्द गरिदिए अनि भने,'जति छोरा जन्मने छ म सबैलाई मार्ने छु, तब मलाई मार्ने संसारमा कोहि रहने छैन।'
अत्याचारी कंसले देवकीको सातवटा नानीलाई मारिदिए। कारागारमा भगवान श्रीकृष्णको जन्म हुनासाथै कारागारको तालाहरू आफै खुल्दै जान्छ अनि पहरेदारहरू गहिरो निद्रामा पर्छन्। जब वसुदेवलाई यो थाहा लाग्यो, तब देवकीले उनलाई शीघ्र बालकलाई गोकुलमा नन्द बाबा र यशोदाको घरमा लैजान लगाइन् । वसुदेवले बालक श्रीकृष्णलाई एउटा टोकरीमा बोकेर हिडे। त्यस समय एकदमै विकट परिस्थिति थिए, चारैतिर यमुना नदीमा बाढी आएको थिए। उता यमुना मैयाले पनि बालक भगवान श्रीकृष्णको चरण स्पर्श गर्न चाहन्थीइन्। जब वसुदेवका गलासम्म पानी आयो, उनलाई घबडाहट भयो। त्यहि समय भगवानले आफ्नो चरण टोकरीबाट बाहिर झार्नुभयो अनि उनको चरण स्पर्श गरेसँगै यमुनाको पानी घट्यो।
वसुदेवले नन्द बाबाको घरमा पुगेर चुपचाप बालक श्रीकृष्णलाई छोडेर त्यहि समय जन्मेकी कन्या मायालाई (नन्द बाबाकी छोरी) साथमा लिएर मथुरा कारागारमा आए। जसै उनी कारागारभित्र पसे, तत्काल कारागारको तालाहरू बन्द भयो, पहरेदारहरुको निद्रा टूट्यो अनि कंसलाई नानी जन्मेको सूचना दिए ।
कंस आए, उनले छोरी देखेर भने, 'यो त छोरी हो, तर यसलाई पनि म मारिदिन्छु ।' यति भनेर उनले कन्या शिशुको खुट्टा समातेर भित्तामा पछार्न थाले, तब कन्या हातबाट फुत्केर आकाशमा उडेर जान्छिन् अनि आकाशवाणी हुन्छ, 'हे दुष्ट कंस! तँलाई मार्नेको जन्म भइसकेको छ, अब तँ कुनै हालतमा बाँच्न सक्दैनस् ।'
भन्नुको अभिप्राय यो हो कि जो संसारमा आएको छ, उसले एक दिन संसारबाट शरीर छोड़ेर जानु पनि पर्छ । जसले राम्रो काम गरेर जान्छ, उनलाई याद गरिन्छ अनि जसले नराम्रो काम गरेर जान्छ, उनलाई कसैले याद गर्दैन ।
द्वापर युगमा अश्वत्थामा आए। अश्वत्थामा आज पनि जीउँदो छन्, घुमिरहेका छन्, किनभने उनले गर्भको शिशुमाथि ब्रह्मास्त्र प्रहार गरेका थिए, कुकृत्य गरेका थिए , यसकारण आज पनि मानिसहरूले उनलाई घृणा गर्दछन् । हामीले राम्रो कर्म गर्यौ भने, मानिसहरुले हाम्रो याद गर्नेछन् ।
त्रेतायुगमा भगवान श्री रामचन्द्र बालिको वध गर्दा भन्नुभएको थियो,'जसप्रकार मैले तिमीलाई लुकेर मारेको छु, यसै प्रकार द्वापार युगमा म जब आउनेछु तब तिमी भील जनजाति बनेर लुकेर मेरो वध गर्नेछौ । जसबाट हाम्रो कर्मको समापन हुनेछ ।' द्वापारयुगमा भगवान् श्री रामचन्द्रले भने जस्तै भयो । भगवान श्री कृष्णले यादव वंशको कुल नष्ट गर्नको लागि जुन मुसलको सृजना गर्नुभयो त्यसको तीर बनाएर बालिले भाली रुपमा लुकेर भगवान् को वध गरे ।
भगवान श्रीकृष्ण रूखको फेदमा सुतिरहनु भएको थियो, अनि उहाँको पइताला चम्किरहेको थियो। त्यो देखेर कनै जनावर सम्झेर भालीले बाण हाने । त्यो काँड भगवानको तालुमा लाग्यो अनि भगवान पीडाले छटपटाउन लाग्नुभयो । भगवान जब पिडाले कराउन थाल्नुभयो तब भीलले वास्तविकता बुझेर भगवानसँग क्षमा यचना गर्न थाले ।
तब भगवान भन्नुहुन्छ, 'भील क्षमा माग्नुको कुनै आवश्यकता छैन । जब तिमी बालिको रुपमा थियौ तब मैले पनि तिमीलाई लुकेर मारेको थिए । आज पनि त्यहि फलबाट तिमीले पनि मेरो वध गरेका हौं । अब तिमीले यस कर्मलाई शुन्यमा परिवर्तित गर्यौ ।'
त्यस समय उ एकदमै दुखी भयो अनि उसको भ्रम दूर भयो, उसको अहंकार समाप्त भयो । भगवान श्रीकृष्ण संसारका लोकहितको कार्य पूरा गरेर संसारबाट शरीर छोडेर जानुभयो।