नागरिक पोष्ट News


पियनदेखि सचिवसम्म सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु - पर्यटनमन्त्री योगेश भट्टराई

2.2K
योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका हुन् ।

शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिए । लगतै सिंहदरबारस्थि पर्यटन मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएको भन्दै उनले विमानस्थल निर्माण, वायुसेवा निगमको स्तरोन्नती लगायतलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

नयाँ पर्यटनमन्त्रीको उद्घोष : वाह ! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ

रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयलाई उचाइमा पुर्‍याएको उनले बताए । सबै मन्त्रीहरु आफ्नो अग्रज भन्दै उनले सबैसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए । 

आफू निश्चित योजनाविनै आएको भन्दै मन्त्रालयका सचिवदेखि पियनसम्म सबैको सल्लाह लिएर काम गर्ने बताए । ‘ नियोजित योजनाबिना आएँ,  मन्त्रालयका  पियनदेखि सचिवसम्म  सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु,  तपाईंले काम लगाउनु म सिक्न आएको हो’ उनले भने ।

केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामात्रै प्रतिवद्धता गर्ने बताए ।

अहिले पर्यटन मन्त्रालयमा धेरै चुनौती रहेको भन्दै उनले नेपाल भ्रमण वर्षलाई सफल पार्न सम्पूर्ण तागत र शक्तिका साथ अगाडि बढ्ने बताए । पोखरा विमानस्थल र गौतमवुद्ध विमानस्थल सकेसम्म छिटो सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटाउने पनि मन्त्री भट्टराईले बताए ।

Must View