सचेत रहनुहोला, केही दिनसम्म भारी वर्षा भइरहने, बाढी पहिरो र डुबानको खतरा !
काठमाडौं। पछिल्ला दिनहरुमा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर सर्दा वर्षा कम हुने अनुमान गरिए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त र स्थानीय वायुको प्रभावले गर्दा देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार साँझ महाशाखाले जारी गरेको सूचनाअनुसार हाल देशैभरी आंसिक देखि सामान्य वदली रही पूर्व तथा पश्चिमका केहि स्थानहरुमा वर्षा भइरहेको छ।
पूर्वानुमान महाशाखाका अनुसार शनिबार राती देशभर आंसिकदेखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी भू–भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार राती देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य र पश्चिमी भ–ूभागमा आंसिकदेखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पूर्वका थोरै स्थान साथै मध्य र पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
यस्तै सोमबार दिउँसो देशको पूर्वी र मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू–भागमा आंसिकदेखि सामान्य वदली रहि पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पूर्वका थोरै स्थान साथै मध्य र पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
सोमबार राती देशको पूर्वी र मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू–भागमा आंसिकदेखि सामान्य वदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
देशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन सचेत गरिएको छ । पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ। बाढी पूर्वानुमान महाशाखाले बबई नदीमा जलस्तर बढिरहेको जनाएको छ । बबईमा जलस्तर खतराको बिन्दुमा नपुग्ने भए पनि दाङका अन्य खहेरो खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहेन सूचना जारी गरेको छ ।