नागरिक पोष्ट News


हनुमन्ते खोला उर्लियो, भक्तपुरमा डुबान शुरु, आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह

1.7K

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ ।अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ । उहाँले भन्नुभयो, “हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छाँै, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।”

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन् । शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् ।

Must View