नागरिक पोष्ट News


पूर्व राज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको फैसला

2K

काठमाडौं। पूर्व सभासद सञ्जय साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्या आरोपमा दोषी ठहर भएका छन् । जिल्ला अदालत धनुषाले  उनलाई जनकपुरका सञ्चार उद्यमी सिंघानियाको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो । 

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको छ । साहलाई हत्याकाण्डको मुख्य योजनाकार मानिएको छ । लामाले साहकै निर्देशनमा आफूले सिंघानियालाई गोली हानेको बयान अदालतमा बयान दिएका थिए ।

सोही प्रकरणमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् । मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।

२०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाको गोली हानेर हत्या गरिएको थियो । उनको हत्या आरोपमा प्रहरीले साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, ओमप्रकाश यादव, मुकेश चौधरी र रामकरण यादवलाई पक्राउ गरेको थियो ।

पूर्व राज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात बर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विष्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।

 

Must View