नागरिक पोष्ट News


मर्जरको निर्णय लिन बैंकलाई राष्ट्र बैंकको १५ दिने अल्टिमेटम

2.2K

नेपाल राष्ट्र बैंकले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने भन्दै दबाब दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाई एक आपसमा गाभिनैपर्ने गरी निर्देशन दिए ।

गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकलाई निर्देशन दिएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

डेपुटी गभर्नर बैंकहरुप्रति झन् कडा रुपमा प्रस्तुत भए । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक साताभित्रै मर्जरका लागि साथी खोज्न बैंकहरुलाई दबाब दिए ।

बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनका लागि ३ वर्षअघि गभर्नर नेपालले पुँजी वृद्धिको अस्त्र प्रहार गरेका थिए । पुँजी वृद्धिको अस्त्रले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमाथि गतिलो प्रहार भयो । जसको फलस्वरुप ६ दर्जन भन्दा बढी रहेका विकास बैंक ३० हाराहारीमा आइपुगेका छन् भने फाइनान्स कम्पनीको संख्या १९ मा झरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार आगामी वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गर्ने नीति लिने बिहीबारको छलफलले प्रष्ट हुन्छ । सकेसम्म बैंक आफै मर्जरमा जाउन् भन्ने राष्ट्र बैंकको चाहना भएको तर मर्जरमा नगए जर्बजस्ती (फोर्स मर्जर) को नीति लिने राष्ट्र बैंक स्रोतले बताएको छ ।

Must View