नागरिक पोष्ट News


प्रहरीको भ्यान दुर्घटना २ जना कैदीबन्दीको मृत्यु, ६ घाइते

1.7K

रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जना कैदीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

थुनुवा कैदीबन्दीको म्याद थप गर्नका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको गाडी बालचनपुरमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रवक्ता सन्तोष पाठकका अनुसार म्याद थपका लागि इप्रका चन्द्रनिगाहपुरले अदालतमा लैजाँदै गर्दा गाडी दुर्घटना भएको हो। जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि लिएर जादै गर्दा दुर्घटना भएको उनले डिसी नेपाललाई जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नगरपालिका ४ का २० वर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका आरोपी सुनसरीका ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ।

प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित ४ जना थुनुवाको म्याद थप गर्न लैजाने क्रममा बीच बाटोमा नै दुर्घटना भएको हो।

दुर्घटनामा जिल्ला अदालत गौरमा म्याद थप गर्न लगिएका चन्द्रपुर नगरपालिका–३ का १८ वर्षीय टेकबहादुर थिङ र चन्द्रपुर नगरपालिका–८ का ३९ वर्षीय कुमार गेलाल घाइते भएका छन्।

यस्तै, प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँ, प्रहरी हवल्दारद्वय उमेश यादव र विनोद मण्डल, प्रहरी जवानहरु सन्जीव कार्की, अजयकुमार यादव र हरिकिशोर चौधरी पनि सो दुर्घटनामा घाइते भएका छन्।

Must View