नागरिक पोष्ट News


प्रसुति गृहको घटना, बच्चा चोरी भयो भन्ने एक दम्पतीको आरोप: प्रहरी नै चकित

2K

असार ६, काठमाडौं । मिति : २०७६ असार ४ गते समय : बिहान ८ः३० बजे स्थान : प्रसुति गृह, थापाथली

(यो खबर सुजन पन्तले रातोपाटीमा लेखेका छन् ।)

बानेश्वर डेरा गरेर बस्ने एक दम्पत्ती उपचार गर्न प्रसुति गृह पुग्छन् –धादिङ स्थायी घर भएका २२ वर्षीय मुस्कान तामाङ (श्रीमान) र २० वर्षीया सुष्मा तामाङ (श्रीमती) ।

उपचार गराउनुपर्ने थियो सुष्माको । सामान्य परिवारका मुस्कानको सानो जागिर थियो । बिहानै अस्पताल पुगेका मुस्कान जागिरमा १० बजे पुग्नुपर्ने भएकाले श्रीमतीलाई पहिलो तलामा गएर बस्न अह्राएर उपचार गरी घर आउनु भन्दै बाहिर निस्के । उपचार गराउन भनेर प्रसुति गृह पुगेकी सुष्मा टिकट पनि नकाटी पहिलो तलामा जान्छिन् । उपचारपछि घर आउँछे भन्ने आशमा रहेका मुस्कानले साँझसम्म नआएपछि सुष्मालाई फोन गर्छन् । उनीहरुबीच छोटो संवाद पनि हुन्छ ।

त्यसपछि उनीहरुबीच राती मोबाइलमा म्यासेजमा कुराकानी हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुबीच त्यो रात लामो म्यासेज कन्भरसेसनमा केटीले केटालाई बच्चा जन्मिएको कुरा भन्छिन् ।प्रहरीका अनुसार लगत्तै केटाले केटीलाई के जन्मियो भनेर प्रश्न गरेको म्यासेज कन्भरसेसनमा देखिन्छ । केटीले पनि तत्कालै म्यासेजको रिप्लाई दिँदै ‘तिमी जस्तै’ भन्ने जवाफ दिएकी छन् ।

त्यो रात त्यत्तिकै बित्छ । अस्पतालमा सुष्मासँग उनकै आमा हुन्छिन् । प्रहरीका अनुसार उनीहरु त्यो राती प्रसुति गृहमै बसेको हुनुपर्छ । आमालाई केटासँग भएको म्यासेज कन्भरसेसनबारे जानकारी भए÷नभएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता बिहीबार बिहान ५ बजे मुस्कान ले सुष्मालाई फेरि म्यासेज गर्छन । प्रहरीका अनुसार मुस्कानले दिउँसो १ बजे बच्चा हेर्न आउँछु भनेर म्यासेज गरेका छन् ।

त्यसपछि मुस्कान दिउँसो पौने २ बजेतिर प्रसुति गृह पुग्छन र बाहिरबाट सुष्मालाई फोन गर्छन् । फोन संवाद लगत्तै सुष्मा तल आउँछिन । सुष्मा एक्लै हिँडेर बाहिर निस्किन्छिन ।

मुस्कानलाई भेट्नासाथ सुष्माले बुधबार साँझ ६ बजेतिर जन्मिएको आफूहरुको बच्चा चोरी भयो भनेर भन्छिन् । यो खबर सुनेर मुस्कान आफन्त र प्रहरीलाई घटनाबारे जानकारी गराउँछन् । तत्कालै काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोली प्रसुति गृह पुग्छ । प्रहरीलाई देख्ने बित्तिकै उनीहरुले पीडा भयो भन्दै रोईकराईसहित नाटक गर्दै आफ्नो बच्चा चोरिएको जानकारी गराउँछन् ।

यो सुनेपछि प्रहरीले तत्कालै अस्पातल प्रशासनलाई घटनाबारे के हो भनेर सोधपुछ गरेको महानगरीय प्रहरी वृत्त सिंहरबारका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिए । उनले भने, ‘बच्चा प्रसुति गृहबाट चोरिएको हो भनेपछि गम्भीर केस हो भन्ने लागेर प्रहरी परिचालन गर्यौं ।’

‘प्रसुति गृहको सीसी क्यामेराको फुटेजहरु चेक गर्यौं । कोही मान्छे त्यो साँझ बच्चा लिएर बाहिर आवतजावत गरेको देखिएन,’ डीएसपी बुढाथोकीले भने, ‘अस्पतालले पनि उहाँहरुले टिकट नै नकाटेको जानकारी गरायो ।’त्यसपछि सुष्माको अल्ट्रासाउण्ड गर्ने कुरा भयो । अल्ट्रासाउन्ड गर्दा पाठेघर नर्मल देखिएको रिपोर्ट आयो । ‘बच्चा पाएको आधारहरु नदेखिएको अस्पतालले रिपोर्ट दियो,’ बुढाथोकीले भने ।

‘प्रहरी आफैँ चकित पर्दै फेरि सुष्मा तामाङको आमालाई सेक्रेट कोठामा छोरीलाई लगेर हेर्नुस भन्यौ,’ बुढाथोकीले भने, ‘किनभने भर्खर बच्चा जन्मेको हो भने ब्लीडिङ हुन्छ । चेक गर्नुस् भनिसकेपछि उनको आमाले पनि ब्लीडिङ केही पनि नभएको र पाठेघर नर्मल रहेको भन्नुभयो ।’अनुसन्धान गहिरो बन्दै गएपछि र आफ्नो गल्ती नछोपिने भएपछि सुष्माले बिरामीको एक्टिङ गरेको प्रहरी समक्ष बताइन् । प्रहरीका अनुसार बुझ्दै जाँदा सुष्मामा साइकोसिस समस्या हो कि जस्तो देखिन्छ सुष्माले के कति कारणले आफ्नो बच्चा हरायो भनेर त्यत्रो ठूलो हंगामा मच्चाइन यो भने सबैको चासोको विषय बनेको छ । अहिले उनीहरु सिंहदरबार प्रहरीको निगानीमा अस्पतालमै छन् ।

Must View