नागरिक पोष्ट News


कर्णालीमा जीप दुर्घटनाः १० जना बेपत्ता, जीप खसेको २ दिन वित्दा पनि फेला परेको छैन

2.6K

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलोबालोमा १० जना बेपत्ता हुनेगरी जीप कर्णालीमा खसेको २ दिन वित्दा पनि फेला परेको छैन।

दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले खोज तलास गर्दा फेला नपरेपछि बुधबार काठमाडौंबाट हेलिकोप्टर र गोताखोरको सहायतामा खोज तलास गर्दा पनि बुधबार साँझसम्म फेला नपरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए।

उनका अनुसार कर्णाली नदी एकदमै धमिलो र चिसो भएका कारण खोज तलास गर्न निकै असहज भएको छ। गाउँपालिका उपाध्यक्षसमेत सवार जीप दुर्घटना भएपछि मंगलबार दिनभरी खोजी गर्दा पनि कतै फेला नपरेको बताइएको छ।

बुधबार पनि दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म गोताखोरको सहायताले सुरक्षा निकायका टोलीले खोजी गर्दा कतै नभेटेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। उनले भने, ‘कर्णालीमा एकदमै धमिलो र चिसोका कारण खोजतलास गर्न सकेको छैन। बुधबार पनि धेरै ठाउँमा खोजी गरियो। कतै पत्ता पाइएन।’

उनले अब  बिहीबार बिहान ८ बजेदेखि नै टोलीले खोजीकार्य सुरु गर्ने बताए। जिल्ला प्रहरी कार्यालय हुम्लाले दुर्घटना भएको जीप सडकबाट करिब ४० मिटर तल कर्णाली नदीमा खसेको जनाएको छ।

दुर्घटनामा परी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार  बेपत्ता भएका छन्।

खार्पुनाथ गाउँपालिका–१ की कौर कामी र उनका २ वर्षका छोरा पनि वेपत्ता भएका छन्। दुर्घटनामा परी वेपत्ता भएका एक जना मिस्त्रीको नाम भने खुल्न सकेको छैन। जीप खार्पुनाथ गाउँपालिकाबाट याङचुंग गाउँपालिकातर्फ जानेक्रममा दुर्घटनामा परेको हो।

नदीमा खसेको जीप र यात्रुको अवस्थाहालसम्म अज्ञात छ । दिन बित्दै जाँदा उनीहरुको सकुसल उद्धार हुने सम्भावना पनि कम हुँदै गएको छ ।

Must View