नागरिक पोष्ट News


यमबहादुर, जो खुट्टाले लेख्छन्, भिडियो बनाउँछन् कक्षामा सधैं प्रथम

3K

यी हुन् साहित्यकार झमक कुमारीको झल्को दिने अर्का २० वर्षीय यमबहादुर खाम्चा । जसको हातखुट्टा चल्दैन । केही दिन यता विस्तारै घरभित्र बाहिर सम्म गर्न सक्ने भएका छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोटका खाम्चा लगनशीलता, मेहनेत र अचम्मकोछ । बाह्र वर्षसम्म ओछ्यानबाट उठ्न नसक्ने खाम्चा त्यसपछि मात्रै केही घिस्रेर मुश्किलले भित्र बाहिर आउन जान सक्ने भएका छन् । निस्दी गाउँपालिका वडा नम्बर २ आनन्दी भन्ज्याङमा रहेको बालहित माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत खाम्चाले कक्षा ८ सम्म कहिल्यै तृतीय नभएको उनका बुवा मानबहादुरले बताए ।

यमका बुवा मानबहादुरले भने, “शुरुमा त कसरी पढाउने, कसरी हुर्काउने यो मात्रै पिर पथ्र्यो, तर छोरो पढाइमा सधँै प्रथम र द्वितीय भइरह्यो, परीक्षाका बेला बिरामी परेका कारण यस पालि भने चौथो भयो । ”कसैसँग कुरा गर्नुपरे कापीमा खुट्टाले लेखेर बोल्ने खाम्चाले कक्षामा सबै साथीसरह नै पढाएको बुझ्ने विद्यालयका प्रधानाध्यापक नवलसिंह वीरकट्टाले बताए । खाम्चालाई सजिलोका लागि विद्यालयमा छुट्टै भुइँ बस्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा परीक्षा शुल्कसमेत नलिएर उनको क्षमता विकासका निम्ति ल्यापटपसमेत किनिदिइएको विद्यालयले जनाएको छ ।

विकट भेग सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्व बर्दाकोटमा जन्मेका खाम्चाले खुट्टाको औंलाबाटै कापीमा कलमले लेख्ने, ल्यापटपमा टाइप गर्ने तथा मोबाइलमा सबै काम गर्ने गरेका छन् । राम्रोसँग अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेख्ने खाम्चाले कविताले कापी भरेका छन् । उनका कविताले सबैको मन छुन्छ । उनले देश, समय परिस्थिति, परिवार तथा आफ्ना जिल्ला र गाउँका विषयमा धेरै कविता लेखेका छन् । खाम्चा दुई खुट्टाको सहायताले मोबाइल तथा ल्यापटपमा भिडियो बनाउने, तस्वीर खिंच्नेदेखि विभिन्न विषयमा लेखसमेत लेख्ने गर्छन् ।सबैका छोराछोरीलाई राम्रो देखेकी खाम्चाकी आमा योगमायाले शुरुमा अपाङ्गता भएको छोरालाई देख्दा दुःखी भएको तर अहिले गाउँका कसैले चलाउन नजान्ने ल्यापटप छोराले चलाउँदा खुशी लागेको बताइन् ।

Must View