कर्मचारीको तलब बढ्यो, कसको कति ? रु. ४ लाख कमाउनेले आयकर तिर्नु नपर्ने !
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीहरुको तलब वृद्धिको घोषणा गरेका हुन् ।
सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको हो ।
यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ ।
वार्षिक आम्दानी ४ लाख रुपैयाँ छ भने अब आयकर तिर्न नपर्ने भएको छ।यसअघि व्यक्तिगत आयकरमा रहेको ३ लाख ५० हजार रुपैयाँसम्मको स्ल्याब परिवर्तन गरी ४ लाख पुर्याइएको हो । बजेटमार्फत दम्पतितर्फ कर नलाग्ने रकमको सीमालाई ४ लाख ५० हजार पुर्याइएको छ । यस्तो सीमा यसअघि ४ लाख रुपैयाँ रहेको थियो ।
यसअघि एकल व्यक्तिका हकमा वार्षिक रु तीन लाख ५० हजारको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सीमा बढेर रु चार लाख पुगेको छ । विवाहित जागिरेका हकमा वार्षिक रु चार लाख ५० हजारसम्मको आयमा सामाजिक सुरक्षा कर मात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गरे १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो ।