शनिबार राती दुई ठूला भूकम्पका परकम्प, सुदूरपश्चिम बझाङमा ४ .३ रिक्टरको धक्का
२०७२ सालको गोरखा भूकम्पको परकम्प जान अहिलेसम्म छोडेको छैन । शनिबार छुट्टाछुट्टै स्थानमा दुई ठूला भूकम्पका परकम्प गएका छन् ।
बिहान ११ः०२ मिनेटमा रामेछापमा केन्द्रबिन्दु भएर ४.९ रिक्टर स्केलको परकम्प गएको थियो ।
त्यस्तै राति सुदूरपश्चिम हल्लायो । राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि गत चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गते पनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीनपटक परकम्प गएको थियो ।