नागरिक पोष्ट News


जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस, २६ वर्ष पूरा भयो : दासढुङ्गा जिप दुर्घटना अझै रहस्यमय

2.5K

जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो ।

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो । तर, दासढुङ्गामा मदन–आश्रितको शालिक भएको स्थान र शव प्राप्त भएको गाँजीपुरको समेत उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन–आश्रितको शालिकमा फूलमाला चढाउने र उहाँका विचार र सिद्धान्तको चर्चा गर्नेबाहेक दासढुङ्गा र गाँजीपुरमा ठोस काम हुन नसकेको बताउनुभयो । 

दुर्घटनापछि शव चितवनकै गाँजीपुरमा जेठ ५ गते भेटिएको थियो । शवलाई त्यसै दिन भरतपुरको प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा राखिएको थियो । चितवनमा हजारौँ कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेपछि शवलाई काठमाडौँ पठाइएको प्रदेशसभा सदस्य सुवेदी सम्झनुहुन्छ । निधन हुनुभन्दा अघि भण्डारीले चितवनका विभिन्न पार्टी बैठक, सभा र कार्यक्रमलाई सम्बोधन गरेको सुवेदीको स्मरणमा आजसम्म पनि ताजै छ ।

घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुङ्गा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

Must View