पश्चिम तराईमा उच्च गर्मीले ‘लु’, जनजीवन प्रभावित, सजगता अपनाउन चिकित्सकको सुझाव
नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ ।
मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको तापक्रम अधिकतम ४३ र न्यूनतम ३७ डिग्री सेल्सियस आसपास रहेको छ ।
चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।
तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारीखेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् ।
गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्नसक्छ ।
अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ । पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रूपानन्द अधिकारीले सुझाव दिए ।