नागरिक पोष्ट News


फानी तुफान भारतहुदै नेपालतर्फ आइरहेको छ, पहाडमा वर्षा र तराईमा हावाहुरीको उच्च सम्भावना

6.4K

काठमाडौं। अहिले बंगलाको खाडीमा एक तुफान सक्रिय छ। ‘फानी’ नाम दिइएको यो तुफान करिब १०० किलोमिटरको रफ्तारमा भारतका दक्षिणी राज्यतर्फ आइरहेको छ। बिहीबारसम्म भारतका दक्षिणी राज्य आन्द्र प्रदेश, ओडिशा र पश्चिम बंगालसम्म आइपुग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यता नेपालमा भने यसको प्रभाव शुक्रबारसम्म देखिनेछ। 

बंगालको खाडीमा श्रीलंका नजिक एक हप्ता अगाडि सक्रिय भएको फानी नामको यो तुफानले भारतमा निकै क्षति गर्न सक्ने अनुमानमकाबीच त्यहाँको सरकारले सावधानी शुरु गरिसकेको छ। केन्द्र सरकारले १०८६ करोड रुपैयाँ अग्रिम विनियोजन गरिसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। आन्द्र प्रदेश, ओडिशालगायतका दक्षिणी राज्यमा उच्च सतर्कता जारी गरिएको छ। विद्यालय बन्द गरिएको छ। सेनालाई सम्भावित उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। 

छिमेकी मुलुक भारतमा वितण्डा मच्चाउने अनुमान गरिएको यो तुफानको के प्रभाव पर्छ भन्नेबारे जल तथा मौसम पूर्वानुमान शाखाले कुनै सूचना जारी गरेको छैन। मौसमविद् मीन अर्यालले आगामी शुक्रबार सो फानी तुफानको प्रभाव नेपालमा देखिने बताए। 

बंगालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसा राज्यतिर बढिरहेको बीबीसीले जनाएको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो उडिसाको तट हुँदै बांग्लादेशतर्फ लाग्नेछ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ ।

‘भोलि पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ,’ उनले भनिन् । बासीले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन् ।

फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ । नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।

Must View