वैज्ञानिक भन्छन् : जुनसुकै बेला ८ रेक्टरसम्मको भूकम्प जान सक्छ, नेपालका ठूला भुकम्पहरु
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
वि.सं. १२१८ को भूकम्प वि.सं. १२१८ के दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।
१३१६ को भूकम्प यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१४६५ को भूकम्प करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।
१७३७ देखिका भूकम्प वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ ।
१८९० देखि गएका भूकम्प वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो ।
१९९० को भूकम्प नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
मिति विवरण न खुलेको यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।
२०७२ को भूकम्प २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।
यस तत्थ्य हेर्दा नेपालमा धेरै नै भूकम्प जाने सम्भावना रहेको वैज्ञानीहरु जनाउछन् । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।
‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।
उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ ।