श्रीलंकामा राष्ट्रिय शोक, ३१० जनाको सामूहिक अन्त्येष्टि
एजेन्सी । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् ।
यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइँदैछ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामूहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको छ । सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन् ।
यसअघि प्रहरीका अनुसार एक चर्चको बाहिर फेला परेको विष्फोटक पदार्थ निष्कृय पार्ने क्रममा विष्फोट भएको थियो । त्यसपछि शहरका बिभिन्न चर्च र होटलहरुमा विष्फोट भएका थिए ।
विष्फोट हुँदैछ भन्ने पूर्वसूचना प्रहरीलाई रहेको भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसबाट राजनीतिक विवाद बढेको छ । कतिपयले विष्फोटलाई रोक्नका लागि कदम नचालेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँग कुरा गर्दै सरकार चुक्यो कि चुकेन भन्ने कुराको अनुसन्धान हुने अभिव्यक्ति दिएका छन् ।