श्रीलंकामा छ वटा शृङ्खलाबद्ध बिस्फोट ! अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो
श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेका बताइएको छ भने सवैस्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे। बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो । चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ ।