पाँच सन्तानकी आमाले महिलाको शरिर सधैं सुन्दर हुन्छ भन्दै फोटो पोष्ट गरेपछि
ब्राइट साइडले एक प्रभावशाली आमा ब्रेन्दा स्टर्नर्सबारे जानकारी दिएको छ ।
मेक्सिकोकी ब्रेन्दा एक वर्षअघि मात्रै अमेरिका छिरेकी हुन् । सौभाग्यशाली गल्ती भनौं उनले एकपटक गलत नम्बरमा मेसेज पठाइन् र फोन पछाडिका ती व्यक्तिसँग विवाह गरिन् । उनीहरु अहिले ओहियोमा बस्छन् र ब्रेन्दाले डायपर, होम स्कूलिङ र पाँच सन्तानले घेरेको आफ्नो जीवनबारे इन्स्टाग्राममा पोष्ट गर्ने गर्छिन् । उनको जीवन सुखमय थियो जबसम्म उनलाई डिप्रेशनले गाँजेन ।
पाँचौं सन्तानलाई जन्म दिएपछि उनलाई पोस्टपार्टम डिप्रेसन भयो । तीन महिना बितिसक्दा पनि उनको शरीर पहिलेजस्तो भएको थिएन । उनी आफ्नो छालामा खुसी थिइनन् । त्यसपछि उनले आफ्नो शरीरबारे त्यति ध्यान नदिने र वास्तविकतालाई अँगाल्ने सोच बनाइन् । ‘वास्तविकता यो हो कि मेरो शरीर बलियो र सुन्दर छ… त्यस्तै तपाईंको पनि,’ ब्रेन्दाले लेखिन् ।
उनले माथि राखेको फोटो खिचिन् र सोसल मिडियामा हालिन् । ‘हाम्रो शरीर अहिले जस्तो देखिन्छ त्यसमा दुःखी हुन नपर्ने कुरालाई स्मरण गराउनका लागि मैले यो तस्बिर खिचेकी हुँ,’ उनले लेखिन् । यसो गरेर कतिले उनको तारिफ गरे भने कतिले सुत्केरी भएपछिको भद्दा ज्यान देखाएर राम्रो नगरेको भन्दै कमेन्ट पनि गरेका छन् ।
जसले उनलाई नराम्रो भने त्यसको मतलब गरिनन् । यसको साटो उनले मातृत्वको सुन्दरताबारे जागरुकता फैलाउन अभियान सुरु गरिन् । सुत्केरीपछिको शरीरलाई साधारण बनाउन उनले जस्तो प्रेरणा दिइरहेकी छिन् त्यसलाई महिलाहरुले प्रशंसा गरिरहेका छन् । उनका इन्स्टाग्राममा २५ हजार बढी फलोअर्स छन् । मानिसहरु उनलाई सुन्न लालायित हुन्छन् ।