टोखाको बिस्केट जात्राःबिष नागलाई परास्त गरी पठाएको उल्लासमा मनाउने गरेको किम्बदन्ती
काठमाडौं। नयाँ बर्षसँगै शुरु भएको टोखा बिस्केट जात्रा सिन्दुर जात्रा मनाइएको छ। वैशाख १ गतेदेखि मनाइने जात्रामा बिहानै देबताका ७ वटै खटलाई नगर परिक्रमा गराइएको छ। टोखामा बिस्केट जात्रा अन्र्तगत गणेश, कोथु गणेश, सपन बिनायक, चण्डेश्वरी, मसानकाली देवी, महादेव, सरस्वतीको मूर्ति लगायतका देबी देवताका सात वटा खटलाई नगर परिक्रमा गरी सिन्दुर जात्रा गरिन्छ।
टोखाको धार्मिक तीर्थस्थल सपनतीर्थ मेलासँगै ४ दिनसम्म हर्षोल्हासकासाथ बिस्का जात्रा टोखाबासीले मनाउँछन्। टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ। टोखाको यस बिस्काः जात्रालाई काठमाडौंको बिस्का जात्राका रुपमा लिइन्छ। टोखाको मौलिक पर्व बिस्का जात्रा बैशाख २, ३ र ४ गते विशेष रुपमा हुने गर्दछ।
बुधबार बिहानै खटहरु उठाई नगर परिक्रमापछि गछेँ टोलमा बिसाइएको छ। बिहानको जात्रा समापनपछि मसानकाली देवताको खटमा रहेका नवदुर्गाका मूर्तिहरु भने आफ्ना खल पुचःका घरघरमा गई बाली उठाउने काम गरिन्छ। दिउँसो २ बजेसम्ममा मसानकाली माईको खट बिसाइन्छ।
अन्तिम जात्राको तयारीमा प्रत्येक टोलका बासिन्दाले वरपरका क्षेत्रमा सरसफाइ गरी रातो माटोले पोतेर खटको स्वागत गर्दछन्। अपराह्नमा अन्तिम जात्राको तयारी सरकारी पूजाबाट गरिन्छ। सरकारी पूजाका लागि सबै खटहरु लामबद्ध बनाएर अगाडी बढाइन्छ। खटलाई व्यवस्थित तथा अनुशासित ढंगबाट अगाडी बढाउन बसः ल्यायगु भन्दै विशेष प्रकारको कपडा बिछ्याएर खट अगाडी बढाइन्छ।
कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य गरिने भए पनि पाँचवटा खटहरु पुनः थनेलाछीमा लगेर, त्यहाँ ठडयाइएको ल्योसिं अर्थात लिंगो लाई परिक्रमा गरेपछि, प्रत्येकका आ–आफ्ना प्रतिनिधि, बाजा सहित लिन पुग्छन्। त्यसपछि देवी देवतालाई मन्दिरमा विधिवत पूजाआजाकासाथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राखिन्छ। अन्तिम दिनमा देव, देवीका खटले परिक्रमा गरेपछि नायखीको सिं बाजा बजाएर हात हातमा सुकुन्दा लिई जात्रालाई विधिवत विदाई गरिन्छ।
यही रात बुढापाका र स्थानीयले हृदयविदारक गीत गाउने चलन छ। जात्राको किबदन्ती यो जात्रा मनाइएको बिषयमा विभिन्न किम्बदन्ती सुन्न पाइन्छ। टोखाका एक तान्त्रिक निकै शक्तिशाली थिए। श्रीमान शक्तिशाली भएकोले उनकी श्रीमतीले आफनो श्रीमानको शक्ति कतिसम्म छ भनेर हेर्न जिद्धी गरेपछि, उनले नाग बन्छु र पछि मलाई यो पाँच वटा चामलको दानाले पूजा गर्नू म सामान्य रुपमै फर्कन्छु भने।
जब तान्त्रिक विशाल नागका रुपमा उनको अगाडी आए, श्रीमती भयवित भइन्। श्रीमानलाई छर्न दिएको अक्षता आफैलाई छर्केपछि उनी पनि नागिनी भइन्। दुवैजना मानव बस्तीमा बस्न नसकेपछि जंगलमा गएर विशाल सल्लाको रुखमा झुण्डिएर मरे।
जब राजाले आफना ज्योतिष दम्पत्तिको दुःखद मृत्यु भएको थाहा पाए, त्यही बेलादेखि विशाल रुखमा नागनागिनीको प्रतिकका रुपमा ध्वजापताका राखेर उनीहरुको स्मरणमा जात्रा मनाउन थालिएको किंवदन्ती छ। नेवारी भाषामा बिस्का भनेको सर्प वा नाग भएकोले, यो किम्बदन्ती मिल्ने स्थानीयको भनाइ छ। त्यस्तै, बिष नागलाई परास्त गरी पठाएको उल्लासमा यो जात्रा मनाउने गरेको अर्को पनि किम्बदन्ती छ।