नागरिक पोष्ट News


अब जेब्रा क्रसिङमा नरोके पाँच सय, मादक पदार्थ सेवन गरी गाडी चलाए १ हजार जरिवाना हुने

3.2K

 काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ ।  पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ ।  ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको छ ।

यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।  यस्तै निर्धारित बाहेकका स्थानमा सवारी साधन रोक्ने, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने र निर्धारित पोशाक नलगाई सवारी साधन चलाउने चालकमाथि पनि सोही जरिवाना हुनेछ ।

बस स्टपमा निर्धारित समय भन्दा बढी समय सवारी साधन रोक्ने, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउने चालकमाथि पनि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले सवारी चालकमाथि थप निषेधित कार्यहरु तोकि सार्वजनिक यतायातलाई व्यवस्थित र मर्यादित बनाउन खोजेको छ । यसैले कसुरअनुसार जरिवाना रकम पनि बढी राखिएको छ ।

ऐनअनुसार अब सवारी साधनमा अश्लिल फोटो टाँस्ने, अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि जरिवाना गरिनेछ ।

उल्लेखित कसुर गर्ने चालकमाथि अब पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँ जरिवाना हुनेछ ।  यस्तै मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने चालकमाथि पहिलो पटक हजार रुपैयाँ जरिवाना गरिनेछ ।

Must View