विकिलिक्सका संस्थापक जुलियन असान्ज यसरी पक्राउ परे
काठमाडौं । लण्डनस्थित इक्वेडरको दूतावासबाट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् । असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासको शरणमा बस्दै आएका थिए । इक्वेडरले असान्जलाई दिँदै आएको आप्रवासीको मान्यता अन्त्य गरे लगत्तै बेलायतको प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनीमाथि अमेरिकी सेनाका हजारौँ गोप्य दस्तावेजहरु विकिलिक्समार्फत सार्वजनिक गरेको आरोप छ ।लन्डनको मेट्रोपोलिटन प्रहरीले अहिलेका लागि असान्जलाई हिरासतमा लिइएको र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टसमक्ष पेश गरिने जनाएको छ । सात वर्षदेखि उनले इक्वेडर दूतावासमा शरण लिएका थिए । यौन उत्पीडन मुद्दामा स्विडेनमा सुपूर्दगी गरिने भएपछि उनले इक्वेडर दूतावासमा शरण लिएका थिए ।
असान्जले सन् २०१० मा ठूलो संख्यामा अमेरिकाका गोप्य दस्तावेज सार्वजनिक गरेका थिए । असान्जले स्विडेनमा सुपूर्दगी हुनबाट बच्नका लागि इक्वेडर दूतावासमा सन् २०१२ मा शरण लिएका थिए । पछि स्विडेनले उनीमाथिको यौन अपराध मुद्दामा सफाइ दिएको थियो । सफाइ पाएपछि पनि असान्ज दूतावासमा बसिरहे किनकि उनले अदालतमा आत्मसमर्पण गर्न मानिरहेका थिएनन् । लन्डन प्रहरीले पनि उनलाई आत्मसमर्पण नगरेकै कारण पक्राउ गरिएको जनाएको छ ।