तपाईका यी कामहरु अरुका लागि बाधक बनिरहेको हुनसक्छ, एकपटक गम्भीर भएर सोचौं
तपाईं चर्को आवाजमा फोन गर्दै वा कसैसँग कुरा गर्दै हिँड्नुहुन्छ । त्यसले अरु कसैलाई बाधा पुग्नसक्छ । तपाईंको गन्थन अरुको लागि झर्कोलाग्दो हुनसक्छ । के तपाईंले त्यसको क्षतिपूर्ति दिनुहुन्छ ?
कुनै भिडभाडमा हिँडिरहँदा तपाईंले कसैलाई धाक्का दिनुभयो । हुनसक्छ, तपाईंले जानेर वा चाहेर धक्का दिनुभएको होइन । तर, तपाईंको धक्काले उक्त व्यक्ती लड्न पुगे । के उनलाई उठाउनुहुन्छ ? माफ माग्नुहुन्छ ?
गाडी/मोटरसाइकलमा तपाईं जथाभावी हर्न बजाउनुहुन्छ । तपाईंले बजाउने हर्नले अरुको श्रवण क्षमतामा असर पर्छ । अर्थात कानमा समस्या आउनसक्छ । यसैगरी तपाईंको गाडी/मोटरसाइकलबाट निस्कने धूवाले अरुलाई असर गरिरहेको हुन्छ । के उनीहरुको स्वास्थ्यमा पर्ने असरको जिम्मेवारी लिनुहुन्छ ?
भलै यी साना कुरा हुन् । दैनिक जीवनमा हुने सानातिना कमी कमजोरी हुन् । तर, हाम्रा यी बानी-व्यवहारको कारण अर्को व्यक्तिले सजाय भोगिरहेका हुन्छन् । बिना कसुर उनीहरु सास्ती भोग्न बाध्य भइरहेका हुन्छन् । अतः कानुनी व्यवस्थाले यी कुरालाई नियन्त्रण गर्न सक्दैन । कसैले उपदेश दिएर वा कसैले गाली गरेर, डर देखाएपनि यस्ता कुरामा सर्तक वा सचेत गराउन सकिदैन ।
जस्तो अहिले सार्वजनिक यातायातमा लेखिएको हुन्छ, ‘तपाईं सादा पोशाकको प्रहरीको निगारनीमा हुनुहुन्छ ।’
यसको अर्थ के सार्वजनिक यातायतभित्र तपाईंले दूव्र्यवहार नगर्नु होला । कसैलाई गलत नियतले छुने, धकेल्ने, लहसिने नगर्नुहोला । तर, यात्रुले कोचाकोच सार्वजनिक यातायातभित्र त्यस्ता गलत नियतले सल्बलाउनेहरु कति हुन्छन् कति । प्रहरीले दिनहूँ वा हरेकजसो गाडीमा निगरानी गर्न संभव हुँदैन ।
यसको अर्थ के हो भने, खराब नियतले गरिने यी कृत्यहरु रोक्न कानुन मात्र काफी छैन । यसका लागि तपाईं/हामी नै सचेत र सर्तक हुनुपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त के भने आफ्नो कारणले अरुलाई कुनै असर हुन्छ, क्षति हुन्छ, समस्या हुन्छ भने त्यसलाई अरुले नियन्त्रण गर्ने होइन । अरुले प्रतिपाद गरेर मात्र यस्तो कुरा नियन्त्रण हुने होइन । हामी आफै यसमा सचेत हुने हो ।
मैले तानेको चुरोटको धूँवाले अरुलाई असर गरिरहेको छ कि ? मैले गरेको व्यवहारले अरुलाई दुःखी तुल्याएको छ कि ? मैले बोलेको बोलीले अरुलाई झर्को लागिरहेको छ कि ?
हामीले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो ।
किनभने हाम्रो समाजले हामीबाट मानविय व्यवहार खोज्छ । मानविय व्यवहार भनेको हामीले अरुप्रति दर्शाउने सद्भाव हो । आफ्नो कारणले अरुलाई कुनै असर हुन्छ, दुःख हुन्छ, कष्ट हुन्छ भने त्यो कुरा हामी आफैले अनुभूत गर्ने हो । अतः आफुबाट त्यस्तो व्यवहार नगर्ने हो ।
यसलाई सु-संस्कार वा सभ्यता भन्न सकिन्छ । सभ्यता भनेको अरुले पाठ पढाएर, अरुले डर देखाएर, अरुले लोभ्याएर विकास हुने कुरा होइन । यो हामी आफैले अनुभूत गरेर त्यसलाई अनुसरण गरिने प्रवृत्ति र व्यवहार हो ।
अतः यसका लागि हामीले घर-परिवारमा नै राम्रो संस्कारको विकास गर्नुपर्छ । संस्कार कानुनले सिकाउँदैन । संस्कार कुनै भाषणले सिकाउँदैन । यो कुरा त हामीले आफ्नो घर-परिवारबाट अभ्यास र विकास गर्दै आउने कुरा हो ।
यी ठूलो कुरा पनि होइन । हामीले गर्ने स-सना व्यवहार हो । तर, यही स-सना व्यवहारले अरुलाई असर गर्न सक्छ । त्यस्ता व्यवहार हामीले सुधार्नुपर्छ ।
तपाईं/हामीले अनुभूत गर्ने यस्तै गल्ती कमजोरी र त्यसलाई सुधार्ने प्रयासबाट नै त सभ्य समाजको निर्माण हुन्छ । अतः सभ्य समाज निर्माणका लागि तपाईं हामी किन सहभागी नहुने ? तपाईं हामीले किन प्रयास गर्ने ?
यी मानविय मूल्यका कुरा पनि हुन् । हामी अचेत वा अज्ञान भएर चुरोटको सर्को तानिरहेका हुँदैनौ, गाडीको हर्न बजाइरहेका हुँदैनौ, खाल्डोको पानी छ्यापिरहेका हुँदैनौ । जानेरै यस्ता गल्ती गरेका हुन्छौं । हामीले गल्तीको यो सिलसिला नरोके अरु कसले रोक्ने ?