चट्याङबाट बच्ने आपत्कालीन उपायहरु :विद्युतीय सामग्री प्रयोग नगर्ने, टेलिफोनमा कुरा नगर्ने
पछिल्लो समय नेपालमा पश्चिमी वायुको प्रभावमा चट्याङसहित बर्षा हुँदा केहीको मृत्यु भईरहेको छ भने कोही घाईते भएका छन् । यसैबीच राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङकै कारण मृत्यु हुनेको संख्या बढेको भन्दै गड्याङगुडुङ हुँदा क्षति न्यूनिकरणका उपायहरु सुझाएको छ । केन्द्रले नेपालमा वार्षिक करिब ८२ जनाको चट्याङकै कारण मृत्यु हुने गरेको भन्दै ती उपायहरु सुझाएका हो । जसमा घरबाहिर हुँदा अग्लो र एक्ले रुखमा ओत नलाग्ने, पौडिने, माछा मार्नेजस्ता काम नगर्ने, खुला मैदानमा नरहने, धातुको तारबारको नजिक नबस्ने, मैदानमा लतमन्न परेर नसुत्ने, मानिसको समूह वा झुण्डमा नरहने बताएको छ ।
यसैगरी फुटबल, क्रिकेट, गल्फजस्ता खेल तत्काल बन्द गर्ने,जंगलमा भए यहाँ रहेका साना रुखका बीचमा बस्ने, घर वा गाडीभित्र झ्याल बन्द गरेर बस्ने, खुला मैदानमा परे दुई घुँडाबीच टाउको लुकाइ टुक्रुक्क बस्न सुझाव दिएको छ । त्यसैगरी घरभित्र हुँदा विद्युतीय सामग्री प्रयोग नगर्ने, तारसहितको टेलिफोनमा कुरा नगर्ने, घरबाट बाहिर ननिस्कने, धारामा नुहाउने, भाँडा माझ्ने काम नगर्ने, झ्याल ढोका बन्द गरेर बस्ने, सकेसम्म भित्तादेखि टाढा बस्ने लगायतका काम गर्न केन्द्रले सुझाव दिएको छ ।