नागरिक पोष्ट News


राशिफल : कन्या राशि हुनेहरूको २०७६ वर्ष उथलपुथल, मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ

7K
कन्या  (टो,प,पी,पु,ष,ण,ठ,पे,पो) –

कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तरपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध आउने नै छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । कुलमा रोगको प्रकोप, मान्यजनकष्ट तथा वियोगसम्मको सम्भावना एवं आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।

व्यापार–व्यवसायमा मन्दि महसूस हुनजाला, समाजसेवा, राजनीति, जागिर आदिमा आलोचना तथा अपयश नपर्ला भन्न सकिन्न । पशुचौपाया तथा कृषि आदिबाट पनि मनग्य लाभको अपेक्षा नराखेकै राम्रो होला । घरभन्दा पर तथा विदेश यात्रा आदिको लागिभने वर्ष अनुकूल रहनेछ । घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । अध्ययनमा आइरहेको अड्चन कम भएर जानेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ । वर्षको उत्तरार्ध पछि तसै केही सुविस्ता महसूस हुनेछ ।  हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

Must View