नागरिक पोष्ट News


बारा-पर्सामा पहिलोपटक खतरनाक आँधी ‘टोर्नाडो’ आएको पुष्टि

2K

 बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको विज्ञले बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसम विद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो।

श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुन्। उनले ४६ वर्ष मौसम क्षेत्रमा काम गरेपश्चात् नास्टको प्राज्ञ नियुक्त भई अध्ययन गरिरहेका छन्। श्रेष्ठले भने, ‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन्।’

सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ। उनका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ। त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ।

उनले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ।भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सा मा विपत्तिको भोलिपल्ट १० मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उनले बताए। याे खबर गाेरखापत्रमा चाँदनी हमालले लेखेकी छन्।

यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ। फोटो हेर्दा जहाँजहाँ त्यो टोर्नाडोले छोएको छ,त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिका स्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्बिरमा प्रस्ट देखिन्छ। फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको तस्बिरमा प्रस्ट देखिएको उनले बताए।

फेरि यस्तै विपत्ति आउन सक्ने भएकाले सरकार चनाखो भएर तत्काल थप अध्ययन थाल्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। पालका काम गरिरहेका र पुराना विज्ञको राम्रो उपस्थिति रहेकाले त्यसको उपयोग गरी भविष्यमा मानव क्षतिसँगै राज्यको सम्पत्ति तथा पूर्वा धार जोगाउन सकिने विज्ञ श्रेष्ठले औँल्याए।

Must View