नागरिक पोष्ट News


अनमोललाई भेटेपछि फुरुङ्ग सुहाना ‘ए मेरो हजुर ३’

2.5K

यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘चिट डे’ बोलको गीतमा फिल्मकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् । 

 

फिल्मले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको हुँदा सार्वजनिक गीतमा आफ्नो 'फेभरेट' गायक प्रेम (अनमोल केसी) लाई भेटेपछि सुहानाको खुसीलाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा उनको 'एक्सप्रेसन' गजब छ । राहुलको सजिलै टिप्न गाह्रो हुने डान्स स्टेपमा उनले उम्दा नृत्य प्रस्तुत गरेकी छन् । भिडियोमा केही बोल्ड देखिएकी उनको नृत्यले धेरैलाई तान्छ । 

 

गीतमा अनमोल भने सुरुवातमा मात्र देखिन्छन् । निर्देशक झरना थापाले सार्वजनिक गीत फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको बताइन् । अभिनेत्री सुहाना उनकै छोरी हुन् । ‘ए मेरो हजुर ३’ बाट उनले छोरीलाई फिल्ममा ल्याएकी हुन् । फिल्मको यसअघि सार्वजनिक दुई गीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । अब धेरैलाई फिल्मको प्रतिक्षा छ । 

 

यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । 

Must View