आगामी तीन दिनसम्म देशभरि नै बदली रहने, हावाहुरी सहित मेघगर्जनसहित पानी पर्ने
पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्र्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ । उच्च हिमाली भूभागहरुका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।