नागरिक पोष्ट News


सोमबार र मङ्गलबार पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने

2.1K

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने मौसमविद् पौडेलले बताउनुभयो । प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिरहने बताइएको छ ।

सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Must View