नागरिक पोष्ट News


निर्दयी डाक्टरः जसले घर र गाडी दाइजो नपाउँदा श्रीमतीको हत्या गरे

2.9K

बाराको परवानीपुर बहुअरीकी सुनीतादेवीको २०५९ फागुन ९ गते वीरगन्ज–२० हरपतगन्जका सचितानन्दसँग मागी विवाह भएको थियो। बिहेका बेला माइती पक्षले १२ लाख ५० हजार नगद र २ लाख ५० हजारका गरगहना दिएको थियो। भोजभतेरमा गरी २० लाख खर्च भएको थियो। उनीहरूको दाम्पत्य एक वर्षसम्म राम्रैसँग चल्यो।

त्यसपछि भने श्रीमान्ले दाइजोमा कार र वीरगन्जमा घर किन्न लगाउन सुनीतालाई दबाब दिन थाले। श्रीमतीले थप दाइजो दिन सक्ने अवस्था माइतीको नरहेको बताएपछि सचितानन्दले मानसिक र शारीरिक यातना दिन थालेका थिए।

श्रीमान्सहित सासू, ससुरा र देवरले २०६२ जेठ २१ गते घरमै थुनेर आगो लगाई हत्याको प्रयास गरेका थिए। सुनीताले जीउज्यानको सुरक्षा र अंश माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएकी थिइन्।

पीडक पक्षले यातना नदिने लिखित प्रतिबद्धता जनाएपछि उनी घर फर्किएकी थिइन्। ‘सुनीता घर फर्किएलगत्तै फेरि ससुरालकाले यातना दिन थाले’, दाजु मनोहर यादवले भने, ‘तापनि, बहिनी सहेर बसेकी थिइन्।’

मनोहरका अनुसार सचितानन्द बिहेको एक वर्षपछि वीरगन्जस्थित नयाँ घरमा बस्ने थाले। सुनीतालाई हरपतगन्जको घरमा आमाबुवासँग राखेका थिए। ‘जब गाउँ जान्थे तब कार र घरको निहुँमा सुनीतालाई कुट्ने गर्थे’, उनले भने, ‘सासु(ससुराले पनि कुट्थे। भोकै पनि राख्थे।’

सचितानन्दले २०६२ मा भारत बिहार जोगबलियाकी युवतीसँग दोस्रो बिहे गरेका थिए। त्यसपछि उनले सुनीतालाई यातना दिने क्रम बढेको मनोहरले सुनाए। ‘सुनीताको नागरिकता बनाइदिन पटक–पटक भन्दा पनि ज्वाइँले मानेनन्’, उनले भने। अंश दिनुपर्छ भनेर पुख्र्यौली सम्पत्तिमध्ये १० धुर जग्गा मात्र आफ्नो नाममा राखेको उनले सुनाए।

उनका अनुसार चैत १० गते राति हरपतगन्जस्थित घरमा श्रीमान्, सासू आशादेवी, ससुरा नागेन्द्र र देवर अचुताले सुनीतालाई मरणासन्न हुने गरी कुटपिट गरे। त्यति मात्र होइन, आइरन र तातो फलामले जीउभरि डामे।

‘त्यतिले पनि नपुगेपछि करेन्ट लगाएछन्’, मामा नागेन्द्रप्रसाद यादवले भने, ‘रातभरि यातना दिएपछि चैत ११ गते बिहान छिमेककाले फोन गरेर माइतीमा खबर गरे। 

अचेत अवस्थामा पीडितलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जकै गण्डक अस्पतालमा लगिएको थियो। गण्डकमा पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि ११ गते राति काठमाडौं लगिएको थियो। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ ५ बजे सुनीताको निधन भएको नागेन्द्रप्रसादले बताए।

Must View