नागरिक पोष्ट News


हार्टअट्याक भएका यात्रुलाई फ्याँकेर ट्याक्सी ड्राइभर ‘टाप’ ! घटना विवरण यस्तो छ

4.4K

बिरामीको तत्काल मृत्यु

 

काठमाडौं । एक ट्याक्सी चालकको अमानवीय व्यवहारले एक यात्रुको बाटोमै मृत्यु भएको छ । ट्याक्सीमा यात्रा गरिरहेका यात्रुलाई हर्ट अट्याक भएपछि ती चालकले अस्पताल लैजानुको साटो बाटोमै अमानवीय तरिकाले निकालेर छाडेका हुन् । घटना बुधबारको भए पनि यथार्थ भने शुक्रबार मात्र सार्वजनिक भएको हो । १३ चैत बिहान साढे ११ बजेतिर गोर्कणेश्वर नगरपालिका–४ का गोपाल कारञ्जित चाबहिलको मेडिकेयर अस्पतालमा उपचार गरेर घर फर्किन ट्याक्सी चढे । उनी नियमित चेकअपका लागि अस्पताल आएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

आउँदा पनि ट्याक्सीमा आएका उनी जाँदा पनि बा१ख ३८५१ नम्बरको ट्याक्सीमा चढे । उनका छोरा प्रवीण भने स्कुटरमा आएर बुबालाई ट्याक्सीमा चढाएर घरतर्फ गएका थिए । उनीहरू अस्पतालमा आई इसिजी गराएर बाहिरको पसलमा चिया खाएर निस्केका थिए । धुलो–धुवाँले भरिएको बाटोमा स्कुटरमा फर्किंदा गाह्रो होला भनेर उनले बुबालाई ट्याक्सी चढाइदिएका थिए ।

उनी करिब २० मिनेट जतिमा घर पुगे । त्यसको केही समय बितिसक्दा पनि बुबा अझै घर आइपुग्नुभएन । तर, केही समयपछि उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । प्रवीण हतारिँदै चाबहिलकै हेल्पिङ ह्यान्डस् अस्पताल पुगे । त्यसपछि पो उनलाई थाहा भयो, भर्खरै चेकअप गराएर घर पठाउन ट्याक्सी चढाएको बुबा कहिल्यै नफर्कने गरी मृत्यु श्ययामा पुग्नुभएको रहेछ । उनले त्यहाँ उनका बुबा बाटोमा लडिरहेको अवस्थामा भेटेपछि बटुवाले अस्पताल ल्याएको जानकारी थाहा पाए ।

ट्याक्सीको अघिल्लो सिटमा बसेका गोपाललाई अलिकति अगाडि बढ्ने बित्तिकै केही असहज महसुस भएछ । उनी बुरुक्क उफ्रिएजस्तो गरेछन् र बेहोस भएछन् । ट्याक्सी चालकले सामान्य मानवीयता पनि नदेखाइ गोपाललाई लतार्दै अघिल्लो सिटबाट धुले भुइँमा खसालेका थिए । निकै गाह्रो भइरहेका गोपाललाई उनले जबर्जस्ती तानेर भुइँमा लडाएर आफू बाटो लागेका रहेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार गोपाललाई केहीबेरपछि हेल्पिङ ह्यान्डस् अस्पताल त लगियो । तर, त्यसवेलासम्म उनको मृत्यु भइसकेको रहेछ । प्रहरीले उनको साथमा रहेको बैंकको एटिएम कार्डबाट परिचय पाएलगत्तै उनका परिवारसँग सम्पर्क गरेको थियो ।

मृतक परिवारले बुधबार नै घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएसँगै प्रहरीले ट्याक्सी चालकको खोजी गरेको थियो । गौशाला वृत्तका अनुसार हेल्पिङ हयान्डस् अस्पतालको सिसिटिभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहोस भएपछि बाहिर लतार्दै निकालेको दृश्य कैद भएको छ । सिसिटिभी फुटेजमा ट्याक्सीको नम्बरप्लेट प्रस्ट नदेखिएपछि प्रहरीले महानगरीय ट्राफिक प्रहरी कार्यालयको सहयोग लिएको थियो । ट्राफिक प्रहरीले विशेष सफ्टवेयरमार्फत फुटेजको गुणस्तर बढाएर हेरेपछि सम्भावित चार नम्बरहरू निकालेको थियो । त्यसैका आधारमा ट्राफिक प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई बग्गीखाना बोलायो । पक्राउ परेका श्रेष्ठ दोलखा जिल्ला मेलुङ स्थायी घर भई कपन बस्ने गरेका थिए । बग्गीखाना आएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

प्रहरीसँगको बयानमा चालकले ट्याक्सीभित्रै ती यात्रु छटपटाउन थालेपछि डर लागेर निकालेर छाडेको बताएका छन् । ५० वर्षीय श्रेष्ठलाई प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा म्याद थपगरी सार्वजनिक अपराधमा मुद्दा चलाएको छ । मृतक परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको छ । प्रहरी स्रोतका अनुसार मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण हृदयघात भन्ने देखिएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मेडिकेयर अस्पतालले मृतक गोपालको अवस्था सामान्य रहेको भनेर डिस्चार्ज गरेको देखिन्छ ।

Must View