निर्माण व्यावसायीलाई अन्यौलमा पारेर टेन्डर खरिदबिक्री
- आलोक यादव, लहान
सिरहाको लक्ष्मीपुर पतारीले पोखरी, सडक ग्राभेल र कल्भट टेन्डरमा त्रुटी रहेको खुलासा भएको छ । इस्टिमेटमा जम्मा रकमको भ्याट मिलान नगरिएको र समानहरुको दररेट उल्लेख नगरि टेन्डर आव्हान गरिएकोले निर्माण व्यावसायीहरुलाई अन्यौलमा पारेको हो । चैत्र १२ गते अन्तिम टेन्डर खरिद गरिएकोमा ५० लाख भन्दा माथीको सूचना नेटमा राख्नुपर्ने प्रावधान रहेको छ । जहाँ पतारी पोखरी जिणोद्धार तथा मन्दिर निर्माणको लागि ८२ लाख २७ हजार ७ सय ३८ रुपैयाँ ६६ पैसाको रहेको छ । माटो ग्राभेल तथा कल्भट निर्माण आयोजनाको लागि ४२ लाख ३ हजार ६ सय ८५ रुपैयाँ ५६ पैसाको टेन्डर रहेको थियो ।
विल अफ क्वान्टीटिमा पोखरी निर्माणको लागि अँक र अक्षरमा फरक पारेर निर्माण व्यावसायीहरुलाई आन्यौलमा पारेको स्थानीय राहुल यादव बताउँछन् । यसअघि २०७४ मा समेत यही टेन्डर आव्हान गरिएको थियो । तर, आफ्ना मान्छेलाई टेन्डर नपर्ने स्थिति देखेपछि सो टेन्डर त्यतिबेला नै रद्द गरिएको थियो । यस पटक लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख रामवल्भ साहका आफ्ना नातेदार पप्पु साह र अर्का वडा ३ का वडाध्यक्ष हनुमान मण्डलका भाई अनुरुद्ध मण्डललाई टेन्डर पारेको छ ।