विद्यालयमा पाँच सय छात्रालाई प्याड वितरण
- आलोक यादव ,सिरहा
अधिकांश माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रा महिनामा कम्तीमा चार दिन महिनावारीको कारण विद्यालयमा गयल हुने गरेका छन् । यो समस्या बढ्दै गएपछि दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकाले उपाय निकालेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसहितको टोली विद्यालय पुग्यो । उनीहरूले माध्यमिक तहमा अध्ययन गर्ने छात्रालाई महिनावारीमा प्रयोग गरिने प्याड वितरण गरे । प्याड पाएपछि त्यसको प्रयोग गरेर भए पनि छात्राहरू विद्यालय आउने अध्यक्ष यादवको विश्वास छ ।
कार्यक्रममा उनले प्याडसँगै करिब दुई हजार छात्र–छात्रालाई नोट पुस्तिकासमेत बाँडेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जगदीश मण्डलका अनुसार गाउँपालिकामा पर्ने चारवटा मावि तहमा अध्ययनरत छात्राका लागि पाँच सय १० प्याकेट प्याड वितरण गरिएको छ । ‘विद्यालयमा कार्यरत शिक्षिका, कक्षा ६ देखि १२ सम्म हरेक कक्षाबाट एकजना छात्रा रहने गरी समिति बनाइएको छ,’ संयोजक मण्डलले भने, ‘विद्यालयको समयमा महिनावारी हुने छात्राले आफ्नो कक्षाकी अगुवामार्फत शिक्षिकासम्म सूचना पु-याएपछि प्याडको प्याकेट दिने व्यवस्था मिलाइएको छ ।’ सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाही, २ सोठियाइन, ३ महदेवा पोर्ताहा र ५ इटहर्वास्थित मावि तहमा अध्ययनरत छात्राका लागि मौवाहीलाई एक सय ५०, सोठियाइन, महदेवा पोर्ताहा र इटहर्वा माविलाई एक सय २० प्याकेटको दरले पाँच सय १० प्याकेट प्याड वितरण गएिको हो ।
नमुना परीक्षणका लागि विद्यालयमा प्याड वितरणपछि छात्राको उपस्थिति संख्याको विषयमा अध्ययन गरी आगामी आर्थिक वर्ष ०७६/७७ मा गाउँपालिकाको आन्तरिक स्रोतबाट नै प्याड वितरण गर्ने योजना रहेको अध्यक्ष यादवले बताए । स्वास्थ्य संयोजक मण्डलले चारवटा माध्यमिक विद्यालयमा स्वास्थ्यचौकीमा कार्यरत स्टाफ नर्समार्फत महिनावारी, प्रजनन अंगको सरसफाइ, किशोरी अवस्थामा हुने शारीरिक परिवर्तन लगायतबारे शिक्षा दिइएको छ । ‘त्यसपछि छात्राहरू सचेत भएपछि महिनावारीको समयमा विद्यालय आउने, तर कपडा फेर्न कक्षा छाडेर घर फर्किने गरेको पाइयो,उनले भने, त्यसलाई रोक्न प्याड वितरण गरिएको हो ।’ कक्षा सञ्चालनको समयमा महिनावारी हुने छात्राका लागि विद्यालयले पानी, साबुनसहितको छुट्टै फेर्ने कोठाको व्यवस्था गर्ने उनले बताए ।
सखुवानन्कारकट्टी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विजय यादवले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्म हरेक महिनाको कम्तीमा एक हप्ता महिनावारीकै कारणले कुल छात्रा संख्याको करिब १५ प्रतिशत अनुपस्थित हुने गरेको बताए । प्याड वितरणपछि महिनावारीको कारणले अनुपस्थित हुने छात्राको दर घट्ने विश्वास उनले व्यक्त गरे ।