नागरिक पोष्ट News


सावधान ! धेरै अण्डा खानेलाई मुटु रोग र उमेर नपुग्दै ज्यान जाने खतरा

3K

एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार दिनमा दुईवटा मात्रै पनि अण्डा खाँदा यसले मुटुलाई हानी पुर्याउने र उमेर नपुग्दै मृत्यु हुने बताएको छ ।

अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो ।

उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको ६वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो ।

अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन् ।

उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन् ।

दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो ।

'हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिस उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा मात्रै हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,' अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न यूनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन् ।

यसअघि गरिएका अध्ययनहरूले अण्डा खानु र मुटुरोगको कुनै सम्बन्ध नरहेको देखाएकोमा यो नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ ।

तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए ।

यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटि  हुनसक्ने बताएका छन् ।

Must View