प्रधानमन्त्री ओलीले नेकपाको बैठकमा पाथीभराको नाम लिंदै गायत्री मन्त्र सुनाएपछि
काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई हिन्दु सभ्यताबारे मन्तव्य दिएको विषयचाहिँ चर्चामा आएको छैन । नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका उड्ने दिन बिराटनगरमा नेकपाको प्रदेश १ कमिटीको पहिलो बैठक एवं सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका महासचिव विष्णु पौडेल विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए । पार्टी एकता भएपछि प्रदेशस्तरमा भएको यो पहिलो औपचारिक संयुक्त बैठक हो । प्रदेश १ अन्तरगत प्रदेश कमिटीको यो बैठकमा २०५ जना प्रदेश कमिटी सदस्यलाई सपथ ग्रहणसमेत गराइएको थियो ।
संयुक्त प्रदेश कमिटीका पूर्वमाओवादीका तर्फबाट ९५ जना र पूर्वएमालेका तर्फबाट ११० जना परेका छन् । प्रदेश कमिटीको बैठकमा सम्वोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणको प्रारम्भ प्रदेश १ मा रहेका धार्मिक स्थलहरुको वर्णनबाट सुरु गरे । प्रदेश १ पूर्वीय सभ्यताको उदगमस्थल रहेको प्रधानमन्त्री ओलीले बताए । उनले यो सभ्यताबारे गहिरो अध्ययन गर्न समेत कार्यकर्ताहरुलाई सुझाए ।
नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले पवित्र धार्मिकस्थल बराहक्षेत्रदेखि पाथीभरासम्मको नाम लिए । साथै उनले ओम भूर्भवस्वः गायत्री मन्त्रीसमेत वाचन गरेर भने,’यो गायत्री मन्त्री बराहक्षेत्रमै देखिएको हो ।’ प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिँदै एक नम्बर प्रदेशको धार्मिक एवं ऐतिहासिकताको चर्चा गरेका थिए ।
कम्युनिष्ट पार्टीको बैठकमा अध्यक्ष ओलीले गायत्री मन्त्र सुनाउन थालेपछि कतिपय कार्यकर्ताहरुले खासखुस समेत गरेका थिए । बैठकमा सहभागी नेकपाका कार्यकर्ताका अनुसार अध्यक्ष ओलीले समसामयिक राजनीति एवं पाटीृको भावी नीति र योजनाका बारेमा स्पष्ट पार्लान् भन्ने धेरैलाई लागेको थियो ।